बाह्रदशी अध्यक्ष कप भलिबलको उपाधि दमकको पोल्टामा
बाह्रदशी । झापाको बाह्रदशीमा सम्पन्न प्रथम बाह्रदशी अध्यक्ष कप आमन्त्रित पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले आफ्नो पोल्टामा पारेको छ। उपाधिका लागि भएको फाइनल खेलमा दमक नगरपालिकाले २५-२१, २३-२५,२५-१६ र २५-१६ को सेटमा बिर्तामोडलाई पराजित गरेको हो।
बिजेता बनेसँगै दमकले नगद एक लाख २१ हजार २२१ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ।
यस्तै उपबिजेता बनेको बिर्तामोड नगरपालिकाले नगद ७५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
फाइनल खेलका म्यान अफ द म्याच दमकका खेलाडी सुमन रानामगर घोषित भए उनले ट्रफी र सम्मान पत्र प्राप्त गरे।
फाइनल अघि भएको सेमिफाइनल खेलबाट बाहिरिएका लेटाङ्ग नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाले दस-दस हजार रूपैयाँ प्राप्त गरेका छन्।
झापाको बाह्रदशी गाउँपालिका परिसरमा भएको खेलमा सर्वोत्कृष्ट खेलाडी दमकका प्रदिप कट्टेल घोषित भए। उनले नगद पाँच हजार रूपैयाँ र प्रमाणपत्र पाए। वेस्ट लिफ्टर दमकका खेलाडी मुस्कान लिम्बू, वेस्ट स्पाइकर बिर्तामोडका लिला डाँगी, सर्वोत्कृष्ट ब्लकर दमकका जेनिस क्षेत्री, उदीयमान खेलाडी आयोजक टीमका बिक्रम मर्डी, सर्वोत्कृष्ट डिफेन्स दमकका खेलाडी भुवन क्षेत्री घोषित भए । सम्पूर्ण विधागत उत्कृष्ट खेलाडीलाई जनही नगद दुई हजार पाँच सय र प्रमाणपत्र प्राप्त गरे।
सेमिफाइनल खेलबाट पाथीभरा याङ्वरकलाई हराउदै दमक र बिर्तामोड नगरपालिकाले लेटाङ्ग नगरपालिका लाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।