नेपाली विद्यार्थीलाई फर्किन आग्रह गर्दै ओडिसा सरकारले बनायो हेल्पडेस्क
काठमाण्डौ । प्रकृति लम्सालको मृत्युपछि न्याय माग्ने विद्यार्थीहरुमाथि दुर्व्यवहार र कुटपिट भएपछि कलेज छाड्न बाध्य भएका नेपाली विद्यार्थीहरुलाई फर्काउने प्रयासमा ओडिसा सरकारले हेल्पडेस्क स्थापना गरेको छ ।
ओडिशा सरकारको उच्च शिक्षा विभागले भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) २४ सै घण्टा सञ्चालन हुने हेल्प डेस्क गठन गरेको हो ।
सरकारले उक्त घटनापछि प्रभावित विद्यार्थीहरूको सुरक्षा, शीघ्र पुनरागमन र शैक्षिक चासोलाई सुरक्षित गर्न विशेष पहल स्वरूप यो हेल्प डेस्क स्थापना गरेको जनाएको छ ।
हेल्प डेस्कको नेतृत्व निर्देशक काली प्रसन्न महापात्रले गरेका छन् । उनलाई उपनिर्देशक डा. रजत मनसिंहले सहयोग गर्ने छन् । उनीहरु मातहत ९ जना कर्मचारीहरूलाई चौबीसै घण्टा हेल्पडेस्कमा खटाइएको छ ।
यो हेल्प डेस्कमार्फत विद्यार्थीहरूले आफ्नो समस्या समाधानका लागि सहज रूपमा सम्पर्क गर्न सक्ने बताइएको छ । त्यसका लागि हेल्प डेस्कमा ह्वाट्सएप नम्बर र चारवटा ल्याण्डलाइन टेलिफोन नम्बर उपलब्ध गराइएको छ ।
त्यसका लागि निम्न फोन नम्बरमा सम्पर्क गर्न सकिने छ –
०६७४–२३९६५५००६७४–२३२३४०३
र ह्वाट्सएप नम्बर– ९१२४६२०६०५
ओडिसा सरकारले प्रभावित विद्यार्थीहरू र अभिभावकहरूलाई शीघ्र संस्थामा फर्कन तथा पढाइ पुनः सुरु गर्न हेल्प डेस्कमार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।