भद्रपुरमा बजार अनुगमन, म्याद गुज्रिएका सामाग्री जफत
भद्रपुर । झापाको सदरमुकाममा रहेको भद्रपुर नगरपालिकाले बजार अनुगमन गरेको छ । नगरपालिकाकी उपप्रमुख तथा बजार अनुगमन समितिकी संयोजक राधा कार्कीको नेतृत्वमा भद्रपुर र चन्द्रगढी बजार अनुगमन गरिएको हो ।
मंगलबार र बुधबार गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका हल्का पेय पदार्थ, अस्वस्थकर रङ मिसाइएको मिठाइलगायतका खानेकुरा, म्याद गुज्रिएका केही ड्राइफ्रुटहरु फेला परेको अनुगमन समितिका फोकल पर्सन सुशील कर्णले जानकारी दिए । यसपटक किराना पसल र होटलहरुमा अनुगमन गरिएको थियो ।
बजारमा अझै पनि म्याद गुज्रिएका, उत्पादन र उपभोग्य मिति नलेखिएका, सामग्री बिक्री–वितरण भइरहेको गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिइएको संयोजक कार्कीले बताइन् । यसअघि, यसै आर्थिक वर्षमा दशैँ–तिहारलगायतका चाडपर्वको सम्मुखमा बजार अनुगमन गरिएको थियो । त्यो अनुगमनबाट बजारमा केही सुधार आएको पाइएको बताउँदै संयोजक कार्कीले अनुगमनलाई निरन्तरता दिइने बताइन् । उनले उपभोक्तालाई पनि सामान किन्दा सचेत हुन आग्रह गरिन् । ‘कम्तीमा आफूले किनेको सामानको उत्पादन र उपभोग्य मिति हेरिदिनोस्, गुणस्तरमा ध्यान दिनोस्, लेबल नभएका सामग्री नकिन्नुहोस्’, कार्कीले भनिन्– ‘तपाई उपभोक्ताले यति गरिदिनु भयो भने पनि बजारमा धेरै सुधार आउनेछ ।’
जफत गरिएका सामग्री अनुगमनमा सहभागी प्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको छ ।