भारतीय नाकामा रोकिएका ३४ वटा ट्रक नेपाल फर्काइँदै
बिर्तामोड । भारतीय पक्षको अवरोधका कारण निर्यात हुन नसकेको ३४ ट्रक प्लाइउड नेपाल फर्काउन लागिएको छ । भारतीय सीमा पानी ट्याङ्कीमा फागुन २७ गतेदेखि रोकिएका ती ट्रक नेपाल फर्काउन लागिएको हो ।
निर्यातमा केही समय लाग्ने भएपछि ती ट्रकहरू नेपाल फर्काउन लागिएको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले बताए ।
नेपालबाट भारततर्फ निर्यात हुने क्रममा भारतको पानीट्यांकीस्थित भन्सारमा तीन सातादेखि ३४ ट्रक नेपाली प्लाइउड रोकिएको छ ।
ब्युरो अफ इन्डियन स्ट्यान्डर्स भारतीय भन्सार कार्यालयले भने ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बीआइएस) नभएको भन्दै नेपाली सामानलाई नाकामै रोकिदिएको हो ।
अहिले ८ करोड ५० लाख मूल्य बराबरको नेपाली प्लाइउड भारततर्फ नाकामै रोकिएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईंले बताए । बीआईएस भारत सरकारको गुणस्तर प्रमाणपत्र हो । भारतले आयात हुने सामान बीआईएस प्रमाणित हुनुपर्ने नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्टलगायत उत्पादनको निर्यात प्रभावित बनेको उनको भनाइ छ ।
यस क्रममा भारततर्फ रोकिएको नेपाली सामान निर्यातको व्यवस्था मिलाइदिन नेपाल तथा भारत दुवैतर्फ पहल गरिए पनि सहज गरिदिने आश्वासन मात्रै प्राप्त गरेको प्रसाईंले जनाए ।
१० उद्योगले बीआईएस प्राप्त गरेका छन् भने ३७ उद्योग प्राप्त गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ ।