नेपालमा फेसबुकमाथि प्रतिबन्ध लगाइने
बिर्तामोड । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने स्पष्ट पारेका छन् ।
शुक्रबार काठमाण्डौमा सञ्चारिका समूह नेपालको ९औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सवै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिवन्ध लाग्ने स्पष्ट पारेका हुन् ।
सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एकमहिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगाएतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे ।
‘एक महिना पुग्न दुई तीन दिन बाँकी छ । कोही आउँदैन,’ उनले भने, ‘सरकारलाई नै टेर्दैन ।’
सामाजिक सञ्जाल सम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको स्पष्ट पारे ।
सरकारले चैत्र ७ गते एक सूचना जारी गर्दै एक महिनाभित्र सामाजिक सञ्जाललाई दर्ता हुनका लागि आह्वान गरेको थियो । फेसबुक, ह्वाट्स्याप तथा इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटालाई दुई–दुई पटक पत्राचार गरिए पनि कुनै जवाफ मन्त्रालयले पाएको छैन । नेपालमा टिकटक, भाइबर र वीटकमात्र दर्ता भएका छन् ।
नेपालमा सामाजिक सञ्जाल दर्ता नहुँदा सामाजिक सञ्जालमार्फत हुने आपराधिक घटनामा संलग्नहरुको पहिचान तथा खोजी गर्न प्रहरीले समस्या भोग्दै आइरहेको छ ।