भारत–पाकिस्तान द्वन्द बढ्दै, पाकिस्तानद्वारा प्रत्याक्रमणको घोषणा
एजेन्सी । पहलगाम घटनापछि भारत–पाकिस्तानबिच द्वन्द बढ्दै गइरहेको छ । पहलगाममा आतंकबादीले निहत्था मानिसको हत्या गरेपछि भारतले ‘अपरेसन सिन्दुर’ घोषणा गर्दै पाकिस्तानमाथि हमला गरेको थियो । यता पाकिस्तानले पनि भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ । पाकिस्तानी सेनाको जनसम्पर्क विभागले दिल्लीले तीन पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै भारतविरुद्ध प्रतिआक्रमण सुरु गरिएको बताएको छ ।
पाकिस्तानले प्रत्याक्रमणको नाम ‘अपरेसन बानयन मर्सस’ राखेको छ । यस अघि भारतले आफ्नो भूमिमा पाकिस्तानले आक्रमण गरेको आरोप लगाए पनि पाकिस्तानले भने आफूले घोषणा गरेर मात्र आक्रमण सुरु गर्ने बताएको थियो ।
पाकिस्तानको यो घोषणा लगत्तै भारत प्रशासित कश्मीरको उधमपुरको डिब्बर क्षेत्रमा विस्फोट भएको बताइएको छ । त्यस क्षेत्रमा लगातार खतराको साइरन बज्न थालेको छ ।
प्रत्याक्रमणको घोषणासँगै पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शनिबार स्थानीय समयानुसार बिहान ३ः१५ बजेदेखि दिउँसो १२ बजेसम्म आफ्नो वायुसीमा बन्द गर्ने निर्णय गरेको छ ।
भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझ पनि गोलाबारी भएको थियो । कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा रातभर गोलाबारी भएको बताइएको छ । यद्यपि भारतले पाकिस्तानको यो घोषणाप्रति कुनै प्रतिक्रिया दिएको छैन ।
जम्मू कश्मीरका उच्च अधिकारीको मृत्यु
जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलाबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यो जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘राजौरीबाट दुखद खबर ! हामीले जम्मू कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौँ। हिजो मात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिएका थिए ।’
उमर अब्दुल्लाहका अनुसार राजौरी सहरमा पाकिस्तान तर्फबाट गोलाबारी भइरहेको छ। उनले लेखेका छन्, ‘आज पाकिस्तानले गरेको गोलाबारीबाट राजौरी सहरलाई निशाना बनाइएको थियो। यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशाना बनाइयो । आक्रमणमा उनको मृत्यु भयो।’