कांग्रेसका विश्वनाथ पौडेल गभर्नर नियुक्त भएसँगै सत्ताको संकट टर्यो
झापा । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १८औँ गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनको नियुक्तिसँगै राष्ट्र बैंकमा डेढ महिनापछि नयाँ नेतृत्व पाएको छ । यसअघिका गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको थियो ।
गभर्नर नियुक्त भएसँगै गठबन्धनमा देखिएको संकट टरेको छ । सोमबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता घटक दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भएको भेटमा गभर्नरको बिषयमा छलफल भएको थियो । देउवाले प्रधानमन्त्री ओलीलाई गभर्नर नियुक्ति गर्न ४८ घण्टे अल्टिमेटम दिएका थिए । तर २४ घण्टा नबित्दै गभर्नर नियुक्त गरिएको छ ।
अर्थशास्त्री विश्व पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । शेरबहादुर देउवाको नेतृत्वमा २०७९ सालको चुनावअघि बनेको सरकारमा उनी आयोगको सदस्य भएका थिए ।
पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक समेत हुन् । यसअघि उनी सोही विश्वविद्यालयमा करिब ४ वर्ष भिजिटिङ प्रोफेसर र करिब साढे ५ वर्ष सहायक प्रोफेसरको रूपमा काम गरेका थिए ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर २०७९ सालमा पौडेलले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका थिए । चितवन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका उनी चुनावमा भने रास्वपाका उम्मेदवार हरि ढकालसँग पराजित भएका थिए । कांग्रेसबाट उम्मेदवार भएको कारणले उनलाई पार्टीको सदस्य रहेको भन्दै उनको नियुक्ति विरुद्ध अदालतमा मुद्दा दायर गर्न खोजिएको थियो । तर, सर्वोच्चले उनी विरुद्धको मुद्दा दरपीठ सदर गरिदिएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको पुँजीको प्रतिफल क्रमशः घट्दै गएको छ । त्यसलाई सुधार गर्दै उपभोक्तामैत्री र सुलभ बैंकिङ सेवा उपलब्ध गराउनु उनको प्रमुख चुनौती रहेको देखिन्छ ।