बिर्तामोड : शिक्षा क्षेत्रको प्रगति र अबको उद्धेश्य
नेपालको सुदुरपूर्वी जिल्ला झापाको मध्यभागमा अवस्थित बिर्तामोड कुनै समय व्यवसायिक हबको रुपमा परिचित थियो । बिर्तामोडबाट पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतमा खाद्यान्न, निर्माण सामाग्री, लत्ताकपडा, दैनिक उपभोग्य वस्तुहरु, कृषिऔजार, मलखाद तथा विषादीहरु ढुवानी हुने गर्दछ । त्यस्तै ती जिल्लाहरुमा उत्पादित कृषिजन्य वस्तुहरु बिक्रीका लागि बिर्तामोड ल्याउने गरिएको छ ।
व्यवसायिक केन्द्रको रुपमा रहेको बिर्तामोड विस्तारै शैक्षिक हबको रुपमा समेत परिचित बन्दै गएको छ । बिर्तामोडका विद्यालयमा अध्ययनका लागि अन्य जिल्लाबाटसमेत विद्यार्थीहरु आउने गरेका छन् । यहाँका विद्यालयहरुमा साधारणसँगै प्राविधिक धारमा समेत अध्यापन हुने गरेको छ । बिर्तामोड क्षेत्रमा सिटीइभिटी अन्तर्गत प्राविधिक कोर्ष पढाईहुने करिब आधा दर्जन शैक्षिक संस्थाहरु रहेका छन् । ती शैक्षिक संस्थाहरुमा रेडियोग्राफी, एचए, फार्मेसी, पशु विज्ञान, बाली विज्ञान, वन विज्ञान, इञ्जिनियरिङजस्ता बिषयहरु अध्यापन हुने गरेका छन् । बिर्तामोड २ मा रहेको बिर अमरसिंह माविमा प्राविधिक तर्फ कक्षा ९ देखि कम्प्युटर विज्ञानको पढाई हुने गरेको छ । बिर्तामोडमा पूर्वप्राथमिकदेखि स्नातकोत्तरसम्म पढाइ हुने शैक्षिक संस्थाहरु रहेका छन् ।
बिर्तामोड नगर क्षेत्रमा १८ वटा सामुदायिक, दुई वटा धार्मिक र ५७ वटा संस्थागत विद्यालय रहेका छन् । बिर्तामोडको १० वटा वडामध्ये वडा नम्बर एकमा एउटापनि सामुदायिक विद्यालय रहेको छैन । तर त्यस वडामा पूर्वप्राथमिक देखि कक्षा १२ सम्म अध्यापन हुने संस्थागत विद्यालयको संख्या भने १३ वटा रहेको छ । ती विद्यालयहरुमा शैक्षिक सत्र २०८१ मा ४१ हजार २१ जना विद्यार्थीले अध्ययन गरेका थिए ।
बिर्तामोडको सामुदायिक विद्यालयहरु मध्ये कक्षा १ देखि १२ सम्म अध्यापन हुने ८ वटा, १० सम्म अध्यापन हुने एउटा, कक्षा ८ सम्म अध्यापन हुने ५ वटा, कक्षा ५ सम्म अध्यापन हुने ३ वटा र कक्षा तीन सम्म अध्यापन हुने विद्यालय एउटा रहेको छ ।
धार्मिक विद्यालयहरुमा बिर्तामोड ३ मा मदरसा तालिमुल कुरान र बिर्तामोड ६ मा हरिहर आश्रम रहेको छ । मदरसामा बालविकासदेखि कक्षा ६ सम्म र हरिहरमा कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको छ ।
वडागत तथ्याङ्क हेर्दा सामुदायिक विद्यालय तर्फ वडा नम्बर एक मा कुनै पनि विद्यालय छैन भने वडा नम्बर २ मा विर अमरसिंह मावि, साङ्गवेद संस्कृत मावि, मोहनमाया मावि र पञ्चरत्न मावि रहेका छन् । वडा नम्बर ३ मा महेन्द्ररत्न मावि, वडा नम्बर ४ मा अनारमनी आवासिय विद्यालय, वडा नम्बर ५ मा देवि मावि, वडा नम्बर ६ मा सरस्वती मावि, वडा नम्बर ७ मा लक्ष्मी मावि, जनता आधारभूत विद्यालय रहेको छ । वडा नम्बर ८ मा शुक्रराज आधारभूत विद्यालय रहेको छ भने वडा नम्बर ९ मा शहिदलक्ष्मी आधारभूत विद्यालय र देवकोटा आधारभूत विद्यालय रहेका छन् । त्यस्तै वडा नम्बर १० मा लक्ष्मीनारायण आधारभूत विद्यालय, चमरधाम आधारभूत विद्यालय र महेन्द्रज्योती मावि रहेका छन् ।
बिर्तामोड नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका निमित्त विभिन्न कार्यहरु गर्दै आएको छ । बिर्तामोडले आफ्नो पालिकामा शिक्षा ऐन २०७९ जारी गरेको छ । यो ऐन २०७९ भदौ १४ गते प्रमाणिकरण भएर कार्यान्वयनमा आएको छ । शिक्षा क्षेत्रको सुधारका निमित्त पालिकाले भवन निर्माण तथा मर्मतसम्भारमा बजेट बिनियोजन गर्ने गरेको बिर्तामोड नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी बताउनु हुन्छ ।
बिर्तामोडले यहाँका विद्यालयमा प्रविधिमैत्री कक्षा सञ्चालन, बालविकासमा सहज बसाईको व्यवस्था, विद्यार्थीहरुलाई शुद्ध खानेपानीका निमित्त विद्यालयहरुमा फिल्टरको व्यवस्था, पानीसहितको शौचालयको निर्माण गरेको छ ।
शैक्षिक गुणस्तर सुधारका निमित्त विद्यालयहरुमा शिक्षक व्यवस्थापन आदिका लागि अनुदान उपलब्ध गराउने गरेको छ भने विद्यार्थीहरुलाई आधारभूत सीप प्रदान गर्ने उद्धेश्यले वाइरिङ र प्लम्बिङको ज्ञान दिन दुई जना मोबाइल शिक्षकको व्यवस्था गरेको शिक्षा शाखा प्रमुख भण्डारी बताउनु हुन्छ ।
पालिकाले बालविकासदेखि कक्षा ५ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पोशाक उपलब्ध गराउँदै आएको छ भने शिक्षा शाखाले विद्यालयहरुको नियमित अनुगमनसमेत गर्दै आएको छ ।
शिक्षकहरुलाई पाठ्यक्रमसँग सम्बन्धित तालिमको व्यवस्था गर्नुका साथै सिकाई सुधार अभियान २०८१ लागू गरि शिक्षकहरुको बिषयगत समितिसमेत निर्माण गरेको छ । बिषयगत समितिहरुलाई तालिम सञ्चालनका निमित्त ४० हजार रुपैँयाका दरले बजेटको समेत व्यवस्थापन गर्ने गरेको शिक्षा शाखा प्रमुख भण्डारीले जानकारी दिनु भयो ।
शिक्षकहरुको मनोबल उच्च राख्न र शैक्षिक गुणस्तर सुधारका निम्ति पालिकाले प्रत्येक बर्ष बालविकासदेखि कक्षा ५ सम्मको एक जना, कक्षा ६ देखि कक्षा ८ सम्म अध्यापन गर्ने एक जना र माध्यमिक तह कक्षा ९ देखि १२ सम्म अध्यापन गर्ने एक जनागरी तीन जना उत्कृष्ट शिक्षकलाई जनही ५० हजार रुपैँयाका दरले नगद पुरस्कार प्रदान गर्दै आएको छ ।
बिर्तामोड क्षेत्रमा अटिजमको एक, दृष्टिविहिनको एक, बौद्धिक अपाङ्गताको ३ र सुस्त श्रवणको २ गरी ७ वटा श्रोत कक्षाहरु सञ्चालित छन् । संघीय कार्यक्रम अन्तर्गत छात्राहरुका लागि सेनेटरी प्याड उपलब्ध गराउँदै आएको छ ।
शैक्षिक बर्ष २०८० को तुलानामा शैक्षिक बर्ष २०८१ मा आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजामा करिब १० प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका छन् ।
शैक्षिक कार्यक्रममा समानता ल्याउनका लागि संस्थागत र सामुदायिक विद्यालयमा एउटै क्यालेण्डर निर्माण गरिएको छ ।
विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गराउने र शैक्षिक क्रियाकलापमा सक्रिय सहभागी बनाउने उद्धेश्यले बर्षमा एक पटक बौद्धिक प्रतिभा प्रदर्शनी प्रतियोगितासमेत नगरपालिकाले आयोजना गर्ने गरेको छ । भाषा, गणित, विज्ञान र सिर्जनात्मक क्ष्ोत्रमध्येबाट प्रत्येक बर्ष अलग अलग विधामा प्रतियोगिता गर्ने र उत्कृष्टलाई पुरस्कृत गर्ने गरिएको छ ।
त्यस्तै विद्यालयहरुमा स्काउट कार्यक्रम समेत लागू गरिएको छ ।
पछिल्लो समय मोहनमाया मावि, देवि मावि र महेन्द्ररत्न मावि उत्कृष्ट विद्यालयको रुपमा विकास हुँदै आएका छन् । शैक्षिक, भौतिक आदि सुचक हेर्दा ती विद्यालयहरु राम्रा विद्यालयहरु मध्येमा पर्दछन् । सामुदायिक विद्यालयमा पनि अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन हुने गरेको छ ।
बिर्तामोड नगरपालिकाले अधिकांश विद्यालयहरुको भौतिक अवस्था राम्रो हुँदै गएकाले आगामी दिनमा शैक्षिक गुणस्तर सुधारका निमित्त कार्यक्रम अगाडी बढाउने योजना बनाएको शिक्षा शाखा प्रमुख तिलचन भण्डारी बताउनु हुन्छ ।