२०८३ बैशाख ५ गते , शनिबार

ट्रम्पको नीति विपरीत बस्ने ५० नेपालीलाई अमेरिकाले नेपाल फर्काउँदै

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २५ गते , आईतबार
ट्रम्पको नीति विपरीत बस्ने ५० नेपालीलाई अमेरिकाले नेपाल फर्काउँदै

झापा । अवैधरुपमा अमेरिका पुगेका नेपालीलाई अमेरिकाले चार्टड जहाजमार्फत आज नेपाल ल्याउँदैछ। अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका झण्डै ५० जना नेपालीलाई निष्कासन गरी विशेष चार्टर विमानमार्फत अमेरिकाले नेपाल फर्काउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले  जानकारी दिएको हो। 
डिपोर्ट गरिएका नेपालीहरू आज दिउँसो ४ बजेतिर ढाका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्दै छन्। विशेष चार्टर जहाजमा ल्याइएका नेपालीलाई काठमाडौंमा छाडेर उक्त जहाज भारतको नयाँ दिल्ली फर्कने नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जानकारी दिएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले केही दिन अगाडि अमेरिकाबाट निष्काशित हुन लागेका नेपालीको बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको थियो। 
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू धमाधम निष्कासनमा परेका छन्। पछिल्लो समय गैरकानुनी तरिकाले बसिरहेका नेपालीहरू अमेरिकाको अध्यागमन प्रहरीको राडारमा परेका हुन्। 
अमेरिकाले सानो संख्यामा भने विभिन्न एयरलाइन्स र चार्टर्ड विमानमार्फत नेपाल फर्काउने गरिएको थियो। यस अगाडि ८/१० जनाभन्दा कम संख्यामा निरन्तर डिपोर्ट भइरहेपनि अमेरिकाले यसपटक ठूलो संख्यामा डिपोर्ट गरेको हो। अमेरिकाबाट दुई साता अगाडि मात्रै ९ जना नेपाली निष्कासित भएका थिए।
‘अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको हो। निष्कासनमा परेकाहरू पछिल्लो समय अमेरिकाबाट दैनिकजसो काठमाडौं अवतरण गर्ने गरेका छन्,’ स्रोतले भन्यो।  
परराष्ट्र स्रोतका अनुसार केही संख्या तलमाथि भने हुन सक्नेछ। ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि हालसम्म झण्डै अमेरिकाले १५० जना नेपाली डिपोर्ट गरिसकेको छ। निस्कासित नेपालीलाई काठमाडौंस्थित अमेरिकी दूतावासले अध्यागमन विभागलाई जानकारी दिने र विमानस्थलमा आइपुगेपछि नेपाल प्रहरीको जिम्मामा लगाउने गरिएको छ।

सम्बन्धित समाचार