इजरायलको समर्थनमा अमेरिकाद्वारा इरानमाथि आक्रमण
झापा । इजरायल र इरानबिच द्वन्द चलिरहेको बेला इरानका तीन आणविक साइटमा अमेरिकाले आक्रमण गरेको छ । इरानी नेताहरुले अमेरिकालाई टाढै रहन चेतावनी दिइरहेका बेला अमेरिकाले इरानमाथि आक्रमण गरेको हो । यसअघि ट्रम्पले इरानमा युद्धमा सहभागी हुने नहुने दुई दिनभित्र निर्णयले लिने बताएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उद्घृत गर्दै द न्यूयोर्क टाइम्सले अमेरिकाले इरानका तीन प्रमुख आणविक साइटहरूमा सफल हवाई आक्रमण सम्पन्न गरेको उल्लेख गरेको छ ।
ट्रम्पका अनुसार अमेरिका द्वारा फोर्डो, नतान्ज र इस्फहान स्थित आणविक केन्द्रहरूमा बम आक्रमण गरिएको हो । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भने, ‘हामीले इरानका तीन आणविक साइटहरूमा निकै सफल आक्रमण सम्पन्न गर्यौँ। सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर निस्किएका छन् ।’
उनका अनुसार फोर्डो साइटमा ‘पूर्ण क्षमताका बमहरू’ खसालिएको छ र सबै विमानहरू अमेरिका फर्किन थालेका छन् ।