६ राउण्ड गोली प्रहार गरी दुई लागूऔषध कारोबारी पक्राउ
बिर्तामोड । झापामा प्रहरीले गोली प्रहार गरी लागूऔषध कारोबारी पक्राउ गरेको छ । प्रहरीको गोली प्रहारबाट एक जना लागूऔषध कारोबारी घाइते भएका छन् ।
प्रहरीले भारत बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने बर्ष ३५ को मनिसुर आलम र कचनकवल गाउँपालिका –५ बस्ने बर्ष ५५ का नशुरुद्धिन मियालाई पक्राउ गरेको हो । आलमको साथबाट २ वटा प्लाष्टिकको पोकामा प्लाष्टिकबाहेक १०३ ग्राम ७० र मिलिग्राम र मियाको साथबाट प्लाष्टिकबाहेक १०२ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद गरेकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार मंगलबार साँझ ५ः२० बजे भद्रपुर–७ चिया पसलनजिक हुलाकी राजमार्गमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछाने समेतको ७ जनाको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा शंकास्पद रुपमा हिडिरहेका आलम र मियालाई चेकजाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गरी भाग्न खोजेपछि नियन्त्रणमा लिनको लागि चाईनिज ठुलो तथा सानो पेस्तोलवाट ३/३ राउण्ड गोली फायर गरी उनीहरुलाई पक्राउ गरिएको हो ।
मियाको दाहिने खुट्टाको पिँडुलामा एक राउण्ड गोली लागेको छ । सामान्य घाइते भएका मियालाई ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार गरी जिप्रका झापामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।