प्रहरीको हत्या गरी फरार व्यक्ति १३ बर्षपछि पक्राउ
ताप्लेजुङ । प्रहरीको हत्या गरी फरार ताप्लेजुङका एक युवक १३ वर्ष पछि पक्राउ परेका छन् । ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित सान्थाक्राका २८ वर्षिय सुवास लिम्वु १३ वर्षपछि शुक्रबार पक्राउ परेका हुन् ।
लिम्बूले गत २०६९ साल असोज १० गते डिउटिमा खटिएका प्रहरी जवान भुपाल आर्चायको हत्या र प्रहरी जवान चन्द्र देवानलाई हतियार प्रहार गरि गम्भिर घाइते बनाएका थिए । त्यस्तै उनले प्रहरी टोलीको ३०३ राईफल समेत लुटेर घटनास्थलबाट फरार भएका थिए ।
उनलाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा २० बर्ष कैद फैसला सुनाइएको थियो ।
लिम्बू भारतको बेङ्गलोर, हैदराबाद, चेन्नाईका विभिन्न ठाउँमा लुकिछिपि बस्दै आएका थिए । प्रहरीले उनको खोजी कार्य जारी राखेकाले केही दिन आगडिमात्र गृह जिल्ला ताप्लेजुङ आईपुगेको सूचना प्राप्त गरेका थिए । यसै क्रममा उनलाई शुक्रबार फुङलिङ बजारबाट नै प्रहरीको टोलीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । लिम्बूलाई हत्या गरेको अभियोगमा जिल्ला अदालत ताप्लेजुङले गत २०७१ साल असोज ३१ गते जन्मकैद ठहर गरेको थियो ।
लिम्बू सहितको १० देखि १२ जनाको समुहले मार्दक पदार्थ सेवन गरी अनावस्यक होहल्ला गरी रहेको अवस्थामा इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको टोलीले सम्झाई बुझाई होहल्ला नगर्न अनुरोध गरेका थिए । सोही क्रममा उनीहरुले प्रहरीमाथि धारिलो हतियार खुकुरी, चुप्पी, तरवार र भाला प्रहार गरि सांघातिक आक्रमण गरेका गरेका कारण प्रहरी जवान आचार्यको मृत्यु भएको थियो भने देवान घाइते भएका थिए ।
लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिई बाँकी कैद असुल उपरका लागि ताप्लेजुङ जिल्ला अदालतमा पेश गरेको छ । अदालतबाट कैदी पुर्जी जारी गरि आज नै कारागार चलान गरिएको समेत प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।