मेचीनगर साकोसद्वारा ६ जना सम्मानित
बिर्तामोड । मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि.ले ६ जनालाई सम्मान गरेको छ । साकोसले १८औँ एकाईगत साधारणसभा अन्तर्गत आइतबार अर्जुनधारा सेवाकेन्द्रको साधारणसभामा उनीहरुलाई सम्मान गरेको हो ।
साकोसले अर्जुनधारा सेवाकेन्द्रका उत्कृष्ट ऋण सदस्यहरु रुपा थापा मगर, मनकुमारी राई, उत्कृष्ट बचतकर्ताहरु इन्दिरा नेम्बाङ र रिना मेचेलाई सम्मान गरेको हो । त्यस्तै शेयर सदस्यका सन्तती मध्ये २०८१ को एसईईमा उत्कृष्ट अंक ल्याउने नरप्रसाद भण्डारीकी नातिनी शिक्षा भण्डारी र शुशिला गौलीका छोरा रोजन गौलीलाई सम्मान गरिएको थियो । सम्मानित सबैलाई नगद १ हजार एक सय रुपैँयासहित सम्मान पत्र संस्थाका अध्यक्ष शिवकुमार रेग्मी र कार्यक्रमका प्रमुख अतिथी प्रदेश बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष विपी भट्टराईले प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भट्टराईले सहकारीहरु अब समस्यामा नपर्ने बताए । सहकारीबाट लगेको ऋण तिर्नु पर्दैन भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै भट्टराईले यदि कोहि त्यो बाटोमा हिँडेको भए काँहि नपुगिनेसमेत बताए । सहकारी संस्थालाई दर्जनौँ नियामक निकायले नियमन गर्ने प्रणाली विकास भएकालेपनि सहकारी अब सहि बाटोमा हिँड्ने उनको भनाई थियो । भट्टराईले सञ्चालक र ऋण सदस्य दुवै इमान्दार बन्नुपर्ने र यदि त्यसो भए सहकारीमा कुनै समस्या नआउने उनले बताए ।
मेचीनगर साकोसले गत आवमा ६३ लाख ६५ हजार ७२१ रुपैँया नाफा कमाएको अध्यक्ष रेग्मीले प्रतिवेदन प्रस्तुत गर्दै जानकारी दिए । ५८०७ जना शेयर सदस्य रहेको साकोसमा ६ करोड ४९ लाख ४५ हजार शेयर पूँजी रहेको छ । त्यस्तै संस्थाले ३९ करोड ९६ लाख ७५ हजार ०९५ रुपैँया ऋण लगानी गरेको छ ।
गत आवमा संस्थाले ४९ जना शेयर सदस्यहरुलाई ५ हजारदेखि २० हजार रुपैँयासम्म स्वास्थ्य राहत, ४६ जनालाई १० देखि २० हजार सम्म मृत्यु राहत सुविधा तथा १६ जनालाई १ हजारदेखि ५ हजारसम्म एम्बुलेन्स तथा सन्तान लाभ सुविधा प्रदान गरेको अध्यक्ष रेग्मीले बताए ।
मेचीनगरको धुलाबारीमा प्रधान कार्यालय रहेको साकोसले बुधबारे, अर्जुनधारा, काँकरभिट्टा र धुलाबारी सेवाकेन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले भदौ २७ गते माइन्युट प्रमाणिकरण सभा गर्ने जनाएको छ ।
लेखा सुपरिवेक्षण समिति संयोजक कमल काफ्लेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका सदस्यहरु, सञ्चालक सदस्य गोविन्द्र श्रेष्ठ, बिर्तामोड सेवाकेन्द्र संयोजक शम्भुविलास पाठक, बुधबारे सेवाकेन्द्र संयोजक रामलाल कोइरालालगायत सहभागी थिए ।
संस्थाका उपाध्यक्ष हरिदास ढुंगानाले स्वागत गरेको कार्यक्रम सचिव संगिता गजुरेलले सञ्चालन गरेकी थिइन् ।