श्रेष्ठ र सुनारको सपथ रोकियो
बिर्तामोड । सुशीला कार्की नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस खगेन्द्र सुनार र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको शपथ नहुने भएको छ ।
फौजदारी मुद्दामा प्रतिवादी रहेको खुलासा भएपछि सुनार र भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय बाहिरिएपछि श्रेष्ठको शपथ नहुने भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान राष्ट्रपति कार्यालयमा पठाएको नामावलीमा सुनारलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने उल्लेख थियो । अहिले प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले राष्ट्रपति कार्यालय पुगेर सुनारलाई शपथ नगराउने जानकारी गराएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।
‘बिहान नाम समावेश भएर आएको थियो । अहिले प्रधानमन्त्रीका स्वकीय सचिव आएर प्रधानमन्त्रीले शपथ नगराउने जानकारी गराउनुभयो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।
यता प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले भने सुनारको नाम मन्त्रीको लिस्टमा समावेश नै नरहेको दाबी गरेका छन् । तर उनको यो दाबी सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो ।
दैलेखको नारायण नगरपालिका–२ भैसेखोर घर भएका सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको भेटिएपछि सञ्चारमाध्यमहरूमा समाचार आएका थिए ।
स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेको कसुरमा प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले उनलाई समेत प्रतिवादी बनाएर दायर गरेको मुद्दामा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।