माओवादी केन्द्रसँग एकता गर्न एस र विप्लव समूहका बहुमत सदस्य तयार
बिर्तामोड । वामपन्थी एकताको पक्षमा रहेको नेकपा माओवादी केन्द्रसँग एकताका लागि अन्य पार्टीहरुले तयारी गरिरहेका छन् ।
समाजवादी मोर्चा निर्माणका लागि नेकपा माओवादी केन्द्रसँग एकता गर्न नेकपा समाजवादी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टीका बहुमत सदस्यले तयारी गरिरहेका छन् ।
पार्टीभित्र बहुमत सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले बताइन् । कात्तिक महिना भित्र नै पार्टी एकता घोषणा हुने अर्का नेता विरोध खतिवडाले बताए । केन्द्रीय कमिटी बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टीका बहुमत सदस्य मोर्चा निर्माणका लागि एकताको पक्षमा उभिएका छन् । मिलन सीको नेतृत्वमा भएको भेलाबाट समाजवादी मोर्चामा भएका दलहरु बिच एकताको पक्षमा उभिने निर्णय भएको हो । १४५ सदस्यीय केन्द्रीय सदस्यमध्ये ७५ जना एकताको पक्षमा रहेको उनको भनाई छ ।
पार्टी एकताकै कारण एस र विप्लवको पार्टीमा विग्रह आएको छ । नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाललगायत रामकुमारी झाँक्रीसहितका केहि नेता भने माओवादी केन्द्रसँगको एकताको विपक्षमा उभिएका छन् भने नेत्र विक्रम चन्द विप्लव नेपाल कम्युनिष्ट पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् ।
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सबै दलहरुलाई आग्रह गरिरहेका छन् ।