महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
सोमबार भएको फाइनल खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि उचालेको हो ।
खेलको २२औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनायो । रेखाले पेनाल्टी बक्सभित्र गरेको सट डिफेन्डरमा लाग्दै फर्किएको बल पेनाल्टी एरियामा अनमार्क रहेकी मिना देउवाको सामु पुग्यो । मिनाले गोलकिपरलाई कुनै मौका नदिई जाली चुमाइन् । अन्ततः उक्त गोल नै पुलिसको विजेता गोल बन्न सफल भयो ।
उपाधिसँगै पुलिसले नगद १० लाख १० हजार रुपैयाँ, मेडल र ट्रफी पायो । उपविजेतामा सीमित एपिएफले नगद ५ लाख रुपैयाँ प्राप्त गर्यो ।
फाइनलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको दुवै उपाधि पुलिसकी मिना देउवाले हात पारिन् । उनले प्रतियोगिता अवधिभर ७ गोल गर्दै गोल्डकपकी टप स्कोरर बनेर २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै १ लाख ५० हजार रुपैयाँ प्राप्त गरिन् ।
प्लेयर अफ द म्याचको उपाधि पुलिसकी पूजा रानाले जितिन् । अन्य उत्कृष्ट पुरस्कार विजेताहरूमा उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस), उत्कृष्ट डिफेन्डर मनमाया दमाई (एपिएफ), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपिएफ), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस) र उदीयमान खेलाडी जेनिफर राना मगर (नेपाल आर्मी) बने । सबै उत्कृष्ट विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे ।
विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डेलगायतले पुरस्कार वितरण गरेका थिए ।