महाधिवेशनको प्रस्ताव बेवास्ता गरे राजिनामा दिने शर्माको चेतावनी
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई भेटेर विधानसम्मत माग गरिएको विशेष महाधिवेशनलाई बेवास्ता गर्न नमिल्ने बताएका छन् ।
महाधिवेशन प्रतिनिधिले विधानको आधारमा हस्ताक्षर संकलन गरेर लिखित माग गरेको विषय विपरित हुने गरी पार्टीले निर्णय गरे महामन्त्री पदबाट राजीनामा गर्ने समेत महामन्त्री शर्माले सभापति देउवालाई बताएका छन् ।
शुक्रबार सिंगापुरबाट फर्केका सभापति देउवालाई भेट्न महामन्त्री शर्मा आइतबार मध्यान्ह पुगेका थिए । सभापति देउवासँग झण्डै डेढ घण्टा कुराकानी गरेका शर्माले विधानसम्मत मागलाई बेवास्ता गर्न नहुने विचार सभापति देउवासँग राखेका थिए । देउवालाई भेटेर फर्केलगत्तै महामन्त्री शर्माले पार्टीका सिमित नेतालाई आफूले सभापतिसँग राखेका धारणा सुनाएका थिए ।
हात्तिसारस्थित एक रेष्टुरेन्टमा पार्टी नेताहरूसँग कुरा गर्ने क्रममा महामन्त्री शर्माले सभापतिलाई आफूले राखेको विचार सुनाएका हुन् । विशेष महाधिवेशन विधानले गरेको व्यवस्था भएको हुँदा बाध्यकारी भएको शर्माले देउवालाई बताएका थिए ।