श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पक्राउ
बिर्तामोड । हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष कुमार भनिने राजकुमार तामाङ (लामा) लाई प्रहरीले पक्राउ गरेको छ । गत २०८१ भदौ १४ गते पाँचथरमा भएको बम विष्फोटको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त विष्फोटमा परी एक बालिकाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । सोही घटनामा पाँचथरमा उजुरी परेको आधारमा उनलाई नियन्त्रणमा लिइएको सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए ।
सिआइबीको टोलीले मंगलबार काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–११ कपनबाट पक्राउ गरेको तामाङलाई मंगलबार नै जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको छ ।
के हो तामाङको पृष्ठभूमि ?
पक्राउ परेका तामाङको आपराधिक पृष्ठभूमि पुरानै रहेको खुलेको छ । उनी यसअघि २०६८ सालमा काठमाण्डौको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम विष्फोट गराउने घटनामा संलग्न थिए ।
उक्त विष्फोटमा मानबहादुर तामाङसहित तीन जनाको मृत्यु भएको थियो भने अन्य व्यक्तिहरू घाइते भएका थिए ।
कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई जेल परेका तामाङ २०७६ सालको प्रजातन्त्र दिवसमा आममाफी पाएर जेलमुक्त भएका व्यक्ति हुन् ।
उपाध्यक्ष पक्राउ पछि के भने अध्यक्ष साम्पाङले ?
पार्टी अध्यक्ष साम्पाङले विष्फोटक पदार्थसम्बन्धी कसुरमा आफ्नो पार्टीका उपाध्यक्ष पक्राउ परेको घटनाप्रति प्रतिक्रिया जनाएका छन् ।
उनले यदि यो पक्राउ प्रतिशोधपूर्ण हो भने त्यसको सशक्त विरोध हुने चेतावनी दिएका छन् ।
पार्टीका उपाध्यक्षसमेत रहेका तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौंबाट पक्राउ गरेपछि मंगलबार साँझ सामाजिक सञ्जालमार्फत साम्पाङले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले अनुसन्धानमा दोषी ठहरिए पार्टीले संरक्षण नगर्ने तर निर्दोषलाई फसाउन खोजिएको भए सह्य नहुने स्पष्ट पारेका छन् ।
साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्– ‘हाम्रो उपाध्यक्ष दोषी ठहर हुन्छ भने हामी बचाऊको प्रयास गर्ने छैनौँ तर निर्दोष हुन् भने अन्याय र प्रतिशोधको विरोध हुनेनै छ ! जय माटो ! जय देश !’