समाजवादी यात्राको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने
बिर्तामोड । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छरिएर रहेका सबै कम्युनिस्ट शक्तिहरूलाई एउटै केन्द्रमा ल्याउने संकल्प गरेका छन् ।
काठमामाण्डौमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले १६ वटा कम्युनिस्ट घटकहरू एकजुट भइसकेको र यो प्रक्रिया अझै विस्तार हुने दाबी गरे । सहमति, सहकार्य र एकताकै जगमा समाजवादको यात्रा सफल हुने भन्दै उनले आफ्नो पार्टीले नै यो ऐतिहासिक अभियानको नेतृत्व गर्ने बताए ।
सम्बोधनका क्रममा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कडा प्रहार समेत गरे । आफूलाई कम्युनिस्ट भन्नेहरूले नै विभिन्न छलकपट र जालझेल गरेर आफ्नै सहयोद्धाहरूमाथि प्रतिशोध साँधिरहेको उनको आरोप छ ।
यस्ता जालप्रपञ्चका विरुद्ध इमानदार कम्युनिस्टहरू एकै ठाउँमा उभिनुको विकल्प नरहेको भन्दै उनले कार्यकर्ताहरूलाई एकताको महत्त्व बुझ्न आग्रह गरे । व्यक्तिगत स्वार्थ र प्रतिशोधको राजनीतिले देशलाई सही दिशा दिन नसक्ने उनको तर्क छ ।
प्रचण्डले पछिल्लो समय सडकमा आएका ‘जेनजी’ पुस्ताका मागहरूलाई आफ्नो पार्टीले उच्च प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाए । नयाँ पुस्ताको चाहना र भावनालाई समेटेर मात्रै समाजवादको लक्ष्यमा पुग्न सकिने विश्वास उनले व्यक्त गरे ।
युवाहरूको माग र मुद्दालाई प्रमुखताका साथ अघि बढाएकै कारण नयाँ पुस्तामा पनि पार्टीको प्रभाव बढ्दै गएको दाबी गर्दै उनले समाजवादको यात्रा अब कसैले रोक्न नसक्ने बताए ।