विपदमा सहयोग गर्ने दातालाई अभियानद्वारा सम्मान
बिर्तामोड । विपदको समयमा सहयोग गर्ने दाताहरुलाई ‘एकका लागि एक अभियान’ले सम्मान गरेको छ । आइतबार बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी अभियानले सम्मान गरेको हो ।
कोरोना संक्रमणको समयमा एक परिवारले अर्को एक परिवारलाई सहयोग गर्ने अवधारणासहित सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीको परिकल्पनामा शुरु भएको एकका लागि एक अभियानले आइतबार जिल्लामा क्रियाशील विभिन्न संघ–संस्था तथा सामाजिक कार्यमा महत्वपूर्ण योगदान पु¥याउने ४२ जनालाई एकैसाथ सम्मान गरेको हो ।
कार्यक्रममा अभियानको आय–व्यय सार्वजनिक गर्दै तत्कालिन झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । हाल काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत अधिकारीलाई झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, अभियानका संयोजक महेन्द्रकुमार गिरीलगायतले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए ।
गत साउन १८ र १९ गते अविरल वर्षापछि झापा र इलाममा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पु¥याएको थियो । उक्त विपद्का बेला ‘एकका लागि एक अभियान’ को माध्यमबाट राहत तथा उद्धारमा उल्लेख्य योगदान पु¥याउने संघ–संस्था र दाताहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको हो । बाढी–पहिरोका कारण पाँच हजार पाँच सयभन्दा बढी परिवारका २५ हजारभन्दा बढी नागरिक विस्थापित भएका थिए ।
उक्त संकटका बेला जिल्ला विपद् व्यवस्थापन समिति संयोजक तथा तत्कालिन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको आग्रहमा अभियान सक्रिय भई प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यमा जुटेको थियो । अभियानको अगुवाइ र समन्वयमा करिब दुई हजार परिवारलाई प्रति परिवार तीन हजारदेखि तीन हजार पाँच सय रुपैयाँ बराबरको खाद्य तथा गैर–खाद्य सामग्रीको प्याकेट तयार गरी वितरण गरिएको थियो । यसअन्तर्गत इलामका एक सय पचास परिवारलाई प्रत्यक्ष राहत प्रदान गरिएको संयोजक गिरीले जानकारी दिए ।
त्यसैगरी विभिन्न दाताको सहयोगमा सात सय परिवारका लागि सरसफाइ सामग्रीसहित पाँच सय प्याकेट हाइजिन किट, तीन सय थान सेन्टर किट तथा दुई सय थान ब्ल्याङ्केट वितरण गरिएको थियो । प्रभावितलाई एकद्वार प्रणालीबाट समान प्रकृतिका सामग्री उपलब्ध गराउन अभियानले जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गर्दै सहयोग गरेको जनाइएको छ ।
अभियानले सामग्री संकलन, प्याकिङ र व्यवस्थापन गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने र समितिले स्थानीय सरकारसँगको समन्वयमा राहत वितरणलाई व्यवस्थित बनाएको थियो ।
कार्यक्रममा संयोजक गिरीले अभियान स्थापना भएदेखि हालसम्मको आय–व्यय विवरण सार्वजनिक गर्दै बाढी–पहिरोका क्रममा आर्थिक तथा जिन्सी सहयोगको विस्तृत विवरण प्रस्तुत गरे। उनका अनुसार अभियानले सुरुवातमा छ लाख रुपैयाँबाट काम थालेकोमा हालसम्म २५ लाख ८५ हजार ९ सय ५० रुपैयाँ नगद तथा उल्लेख्य जिन्सी सामग्री संकलन गरी पीडितलाई वितरण गरिएको छ ।
संयोजक गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य अभियान सदस्य लीला चिमरियाले राखेका थिए भने सहजीकरण अभियान सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल तथा सम्मानित व्यक्तित्वका तर्फबाट तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।