कांग्रेस दास र लासहरुको पार्टी होइन : गगन थापा
बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस दास र लासहरुको पार्टी नभएको बताएका छन् । पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले नेतृत्वको व्यवहारप्रति लक्षित गर्दै त्यस्तो धारणा राखेका हुन् ।
‘नेपाली कांग्रेस दास र लासहरुको पार्टी होइन,’ संस्थापन पक्षको असहमतिका बाबजुत आयोजित विशेष महाधिवेशनमा बोल्दै महामन्त्री थापाले भने, ‘यो सिंगो मानिसहरुको पार्टी हो ।’ पार्टीमा कोहि मालिक र कोही दास नभएको थापाले बताए । उनले तल बस्नेलाई माथि बस्नेले निहुरिएर सलाम गर्नुपर्ने धारणा राखे । ‘यहाँ नआउने सभापति र यहाँ उपस्थित सबै कांग्रेसका सदस्य बराबर हुन्,’ उनले भने, ‘मञ्चमा बस्नेले तल बस्नेलाई निहुरिएर सलाम गर्नुपर्छ ।’
‘चुनाव एउटासँग मिलेर लड्ने, सरकार अर्कैसँग मिलेर बनाउने तरिका ठीक भएन,’ थापाले पार्टीको नेतृत्वप्रति आक्रोश पोख्दै भने, ‘सत्तामा बस्न पाइएन भने सबैथोक सकिएको ठान्ने ?’
थापाले यो महाधिवेशन पार्टीभित्रको संघर्ष नभई पार्टी कसरी चलाउने भन्ने बिषयसँग जोडिएको बताए । ‘केन्द्रले गरेको भए यहाँ गएर टुंगिन्छ भनेर भन्न सकिन्थ्यो तर यो सदस्यहरुले मागेर भएको महाधिवेशन भएकाले कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन,’ उनले भने, ‘म पनि तपाईहरुले बोलाएर आएको मान्छे हो ।’
थापाले जेनजी आन्दोलन पश्चात पार्टी सभापति शेरबहादुर देउवालाई पटक पटक नेतृत्व छाडेर नयाँ म्याण्डेडमा जान आग्रह गरेको सुनाए । उनले विशेष महाधिवेशन बोलाउनुको कारण खुलाउँदै भने, ‘तपाई (देउवा)लाई घरमा आएर दाई यो देशमा प्रजातन्त्रका लागि धेरै गर्नुभएको छ अब समय आएको छ तपाईले छाड्नु पर्छ, तपाईलाई सारा नेपालीले सम्झने छ, तपाईको संघर्षलाई सम्झने छ भनेर भनेको होइन ?’ उनले प्रश्न गरे, ‘केहि मानिसहरुसँग तपाईले मंसिरमा अधिवेशन गर्नुस मैले सबै छाडिदिएँ भनेको होइन ?, सबैले पार्टी त कांग्रेस जस्तो हुनुपर्छ भनेको होइन ? तर खै ?’ उनले विशेष महाधिवेशन आफुहरु नेतृत्वमा आउनका लागि नभएको बताए । उनले महाधिवेशनमा आएका सबै मानिस नेपाली कांग्रेसलाई माया गर्ने मान्छे भएको बताए ।
थापाले महाधिवेशनको दोस्रो दिन (सोमबार) नेतृत्व सहभागी भए उहाँहरुको मर्जी र नआए निर्णय गर्ने प्रतिनिधीहरुको मर्जी भएको बताउँदै महाधिवेशनले गर्ने निर्णय मान्न आफु तयार रहेको बताए । महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधीको हस्ताक्षर भएको उद्घोषकले जानकारी गराए ।