ओलीको विरोधीलाई टिकटमा ‘बाइकट’
बिर्तामोड । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले अधिकांश स्थानमा उम्मेदवारको टुंगो लगाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सार्दै नेकपा एमालेले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको टिकट वितरण गरेको हो ।
शनिबार केन्द्रीय मूख्यालय च्यासलमा दिनभर बसेको सचिवालय बैठकले उम्मेदवारहरु टुंग्याएको हो । बैठकपछि उपमहासचिव लेखराज भट्टले उम्मेदवार टुंगिएका क्षेत्रहरुको नामावली सार्वजनिक गरेका छन् ।
भट्टका अनुसार उम्मेदवार टुंगिन बाँकी रहेका क्षेत्रहरुमा अध्यक्ष ओलीले आवश्यक छलफल गरेर निर्णय लिनेछन् । सार्वजनिक सूची अनुसार अध्यक्ष ओली झापा–५, बाटै यसपटक पनि चुनाव लड्नेछन् ।
उपाध्यक्षहरू बिष्णुप्रसाद पौडेल पाल्पा–२, पृथ्वीसुब्बा गुरुङ लमजुङ, गोकर्ण बिष्ट गुल्मी–२ बाट उम्मेदवार बन्ने भएका छन् । उपमहासचिव भट्ट कैलाली–४ र रघुबीर महासेठ धनुषा–४ बाट उम्मेद्वार बन्ने भएका छन् ।
तर अर्का उपमहासचिव योगेश भट्टराईबारे भने सचिवालय बैठकले निर्णय गर्न सकेन । उनी चुनाव लड्दै आएको ताप्लेजुङमा कसलाई उम्मेदवार बनाउने भन्ने खाली राखेर निर्णय गरिएको छ । स्रोतका अनुसार ओलीले भट्टराईलाई टिकट दिन चाहेका छैनन् ।
‘आफ्नो निर्वाचन क्षेत्रबारे मात्र नभएर टिकट वितरण प्रणालीमै योगेश भट्टराईले बैठकमा नोट अफ डिसेन्ट रहेको जानकारी दिनुभएको छ,’ बैठक स्रोतले भन्यो । तर एकताको सन्देश दिन पनि भट्टराईबारे निर्णय लिन पदाधिकारीहरुले दबाब दिएका थिए ।
गत मंसिर अन्तिम साता सम्पन्न एमालेको एघारौं महाधिवेशनमा ईश्वर पोखरेलको प्यानलबाट भट्टराई उपमहासचिव निर्वाचित भएका थिए । त्यसैले भट्टराईलाई टिकट नदिदा एकताको सन्देश नजाने तर्क पदाधिकारीहरुको थियो । ताप्लेजुङको निर्णय नगरिएपछि भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत् पार्टीको निर्णयबाट बिचलित नभई एमालेका उम्मेद्वार जिताउने अभियानमा लाग्न अपिल गरेका छन् ।
‘फरक समूहबाट उपाध्यक्ष जितेका गोकर्ण बिष्ट बाहेक लगभग कसैलाई पनि टिकट दिइएको छैन,’ बैठक स्रोत भन्छ । ओलीसँग अध्यक्ष भिडेका ईश्वर पोखरेललाई नै टिकट दिने निर्णय बैठकले गरेन ।
काठमाडौं–५, बाट पोखरेलको नाम एकल सिफारिस थियो । जिल्ला कमिटीले पोखरेलले चुनाव नलड्ने घोषणा गरे मात्रै छलफल गर्नेगरी अरू केही नाम थपेको थियो । स्रोतका अनुसार यो क्षेत्रबाट सचिव राजन भट्टराईले चुनाव लड्न चाहेका छन् ।
‘४ नम्बर क्षेत्रमा लड्दिनँ, ५ मा जान्छु भन्ने राजन भट्टराईको प्रस्ताव छ,’ स्रोत भन्छ, ‘संभवतः राजनकै नाममा पछि निर्णय हुन सक्छ ।’ काठमाडौं–४ बाट भट्टराई लगातार पराजित हुँदै आएका छन् ।
यद्यपि उपमहासचिव भट्टले भने छलफल गरेर सिफारिस भएकै नेताहरुले टिकट पाउने सम्भावना पनि रहेको बताएका छन् । तर टिकट वितरणको प्रवृत्ति हेर्दा भने ओलीले आफू इतर समूहका नेताहरुलाई पञ्छ्याउन खोजेको प्रष्ट हुन्छ ।
ईश्वर पोखरेलको प्यानलबाट सचिवका उम्मेदवार बनेका विनोद ढकाल, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, इन्द्रलाल सापकोटाहरू कसैले पनि टिकट पाएनन् । यी मध्ये काभ्रे–२ गोकुल र पाल्पा–२ बाट ठाकुर गैरेले ०७९ को चुनाव जितेका थिए ।
तर रुपन्देही–२ बाट चुनाव लड्दै आएका उपाध्यक्ष पौडेललाई पाल्पा–२ को टिकट दिएर ठाकुरलाई पञ्छ्याएको छ । यो निर्णय गर्दा केही पदाधिकारीहरुले आपत्र् िजनाएका थिए । ‘पार्टीका उपाध्यक्ष भागेको सन्देश जानेगरी यस्तो निर्णय नगरौं, यसले ठाकुर गैरेलाई पनि अन्याय हुन्छ,’ ती पदाधिकारीहरुको तर्क थियो ।
ठाकुरकै जस्तो तर्क गोकुल बास्कोटाको टिकटबारे पनि गरिएको थियो । तर प्रस्ताव बमोजिमकै निर्णय भयो । इतर समूहका नेताहरुलाई टिकट नदिने क्रममा मोरङको तीन वटा क्षेत्रबाट सिफारिस भएका विनोद ढकालबारे पनि निर्णय गरिएन । ढकालको नाम मोरङ–१, ४ र ६ बाट सिफारिस भएको थियो ।
पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलाई टिकट नै दिइएन । चितवन–१ बाट चुनाव लड्दै आएका पाण्डेको नाम समेत सिफारिस गरिएको थिएन ।
सिफारिस भएर पनि इतर समूहमा लागेकै कारणले टिकट नपाउने नेताहरुको संख्या ठूलो छ । झापा–४ बाट एलपी सावा, इलाम–२ बाट महेश बस्नेत, ओखलढुंगाबाट अमिरबाबु गुरुङ, सुनसरी–१ बाट जय राई, बारा–२, बाट पुरुषोत्तम पौडेल, काठमाडौं–३ बाट कृष्ण राई, काठमाडौं–९ बाट कृष्णगोपाल श्रेष्ठ, सिन्धुली–१ बाट गणेश पहाडी, रामेछामबाट रत्न गौतम, कास्कीबाट मनबहादुर गुरुङले टिकट नपाउनुमा फरक कित्तामा लाग्नु रहेको नेताहरु बताउँछन् ।
यस्तै म्याग्दीबाट बालकृष्ण सुवेदी, कैलाली–२ बाट झपड रावल, कञ्चपुर–१ बाट तारा लामा, बाजुराबाट कर्ण थापाले टिकट नपाउनुपर्ने बलियो कारण नरहेको उनीहरु बताउँछन् । कतिसम्म भने बारा–२ बाट उम्मेदवारको नाम सिफारिस हुँदा जम्मा ४ मत पाएका ज्वाला साहलाई टिकट दिएर अत्यानन्द पाण्डेलाई पञ्छाइएको छ ।
टिकट वितरणको मापदण्ड नबनाइएकाले असन्तुष्टि बढ्न सक्ने नेताहरु बताउँछन् । ‘अब कसले कसरी टिकट पायो भन्ने कुनै मापदण्ड बनेन, यसले पार्टीभित्रको आन्तरिक एकतामा समस्या हुन सक्छ,’ एक नेता भन्छन् ।
चुनावमा एमाले एकताबद्ध र सशक्त भएर लाग्नेगरी टिकट वितरणमा सन्तुलन कायम नगरिएको उनी बताउँछन् । ‘पदाधिकारीहरु नै हारिन्छ भनेर चुनाव क्षेत्र फेर्नेतिर लाग्नुभयो,’ उनी भन्छन्, ‘धेरै ठाउँमा गुट छल्नलाई जुनियरले टिकट पाउँदा थप समस्या हुन सक्छ ।’
अध्यक्ष ओलीले इतर समूहमा सक्रिय भएका अथवा विगतमा साथ नपाएका नेताहरुलाई मात्र नभएर कतिपय आफ्नै पक्षका नेताहरुबारे पनि निर्णय लिएका छैनन् । महासचिव शंकर पोखरेलको टिकट निश्चित नगरिनु त्यसको बलियो उदाहरण हो ।
दाङ–२ बाट चुनाव लड्दै आएका पोखरेलको क्षेत्रबारे कुनै निर्णय गरिएन । बैठक स्रोतका अनुसार महासचिव पोखरेलले त्यही लड्ने अथवा अर्कोतिर जाने भन्ने अन्योल हुँदा टिकटबारे निर्णय नभएको हो ।