आज बालेन उत्तर लाग्दा ओली दक्षिणतर्फ
बिर्तामोड । झापा क्षेत्र नम्बर ५ का उम्मेदवार तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो निर्वाचन क्षेत्रको दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् । जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका ५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरूसँग भेटघाटको कार्यक्रम तय गरिएको छ ।
ओलीले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए । वडाका पदाधिकारी तथा सदस्यहरूले मतदाताको मुड, विकासको अवस्था र पार्टी कामका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउने छन् ।
त्यस्तै झापा क्षेत्र नम्बर ५ का अर्का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपसभापति बालेन्द्र शाह उत्तरपूर्वी जिल्लाको यात्रामा निस्किएका छन् । उनी आज विहानै इलामको मतदातासँग भेटघाट गर्न गएका हुन् । अहिले उनले त्यहाँका मतदातासँग साक्षात्कार गरिरहेका छन् भने उनी त्यहाँबाट पाँचथरहुँदै ताप्लेजुङ जाने कार्यक्रम रहेको बताइएको छ ।