बर्षमानको नाममा नक्कली प्रतिबद्धता पत्र सार्वजनिक, पुनले गरे आयोगमा उजुरी
झापा । आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
उनले आफ्नो सचिवालयमार्फत आयोग र ब्युरोमा उक्त कार्यमा संलग्नमाथि कानुनी कारबाहीको माग गर्दै उजुरी दिएका हुन् । पुन गृहजिल्ला रोल्पाबाट प्रतिनिधि सभाको उम्मेदवार छन् ।
निवेदनमा भ्रामक र चरित्र हत्या गर्ने किसिमका सामग्री सम्प्रेषण भइरहेकाले विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ बमोजिम सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धको कसुर तथा निर्वाचन आचारसंहिताको उल्लंघन भएको उल्लेख छ ।
‘मतदातालाई भ्रमित तुल्याई स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने वातावरणको हनन् गरेको छ,’ उजुरीमा भनिएको छ, ‘यसले निर्वाचनको स्वच्छतालाई असर पार्ने र समाजमा द्वेष फैलाउने कार्य गरेको हुनाले उक्त भ्रामक सामग्रीहरू तत्काल हटाउन लगाउनुका साथै यस्ता कार्यमा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी प्रचलित कानुन बमोजिम कडा कारबाही गरिपाउन यो निवेदन पेस गर्दछु ।’
प्रतिस्पर्धीमध्येका उम्मेदवारले आफ्नो विषयमा मतदातमा भ्रम फैलाउने र चरित्र हत्या गर्ने उद्धेश्यले प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमा राखेको दाबी गर्दै संलग्न व्यक्तिहरुमाथि कारबाहीका लागि निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी दिएको पुनको भनाइ छ।
उनले पार्टीको चुनावी घोषणापत्र लेखन अन्तिम चरणमा रहेको र आफ्नातर्फबाट मौखिकबाहेक लिखित रुपमा छुट्टै घोषणा वा प्रतिबद्धतापत्र नबनाएको समेत उल्लेख गरेका छन् ।
पुनको भन्दै सार्वजनिक गरिएको नक्कली प्रतिबद्धतपत्रमा रोल्पा सदरमुकाम र सुलिचौरमा रेड लाइट एरिया तोक्ने, बडाचौरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, जिल्लामा विश्वविद्यालय र प्रत्येक वडामा क्याम्पस निर्माण गर्ने, मेट्रो रेल र केबलकार सञ्चालन गर्ने जस्ता विषय उल्लेख गरिएका छन् ।