सहपाठीको बुवालाई सिरिञ्ज प्रहार गरि हत्या
बिर्तामोड । झापाको भद्रपुरमा एक युवकले आफ्नै साथीको बुवालाई सिरिञ्ज प्रहार गरि हत्या गरेका छन् । भद्रपुर–१० धनुषमोड बस्ने ६४ वर्षीय खेमराज ढकाललाई आफ्नै छोरीको साथीले हत्या गरेका हुन् ।
हत्यामा संलग्न सिरहा बिष्णुपुर गाउँपालिका–१ बस्ने २६ वर्षीय दिनेशकुमार सिंहलाई प्रहरीले हत्यामा प्रयोग भएको सुईसहित पक्राउ गरेको छ । सिंह धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस चौथो बर्षमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । मृतक ढकालकी छोरी र हत्यामा संलग्न सिंह सँगै पढ्ने साथी हुन् ।
बुधबार नै झापा आएर एक होटलमा बसेका सिंहले सोध्दै ढकालको घरसम्म पुगेको र केहि कुरा गर्नु छ भनी एक्कासी ढकाललाई सुई प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आफ्नै साथीको बुवालाई के कति कारण हत्या गरियो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरु बिच प्रेम सम्बन्ध नरहेको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सिंहलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र पिडितको तर्फबाट जाहेरीका लागि आएकाले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।