एमाले पहिलो पार्टी बन्ने अध्यक्ष ओलीको दाबी
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टी देशको पहिलो राजनीतिक शक्तिका रूपमा उदय हुने दाबी गरेका छन् ।
मंगलबार झापामा मतदाताहरूसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले एमाले अहिले दोस्रो पार्टी भए पनि आगामी निर्वाचनपछि पहिलो पार्टी बन्नेमा कुनै सन्देह नरहेको जिकिर गरे ।
‘कान खोलेर सुने हुन्छ, आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी हुन्छ,’ उनले भने, ‘कम्तीमा पनि बहुमत ल्याएर वा ठूलो दल बनेर एमालेले देशको नेतृत्व गर्नेछ ।’
जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र अराजक गतिविधिप्रति आपत्ति जनाउँदै ओलीले यस्ता कार्यमा संलग्नहरू देशका दुस्मन भएको बताए ।
उनले भने, ‘जसले बिजनेस कम्प्लेक्स जलाए, ती देशका दुस्मन हुन् । जसले अरूका घर जलाए, ती विकास विरोधी हुन् । सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउने कुरा गर्नेहरू राजनीतिकर्मी होइनन्, ती आतंककारी र अपराधी हुन् ।’
मुलुकमा अस्थिरता र विध्वंस मच्चाएर विकास रोक्न खोज्ने तत्त्वहरू सक्रिय रहेको भन्दै उनले उनीहरूले देश बनाउन नभई बिगार्न खोजेको आरोप लगाए । ‘यीनीहरूले राजनीति गरिरहेका छैनन्, देशमा विध्वंस मच्चाएर अस्थिरता ल्याउन खोजिरहेका छन्,’ ओलीले सुनाए ।
नेपालीहरूको वास्तविक पहिचान शान्तिप्रिय र श्रमजीवी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले लुटपाट र आगजनी गर्ने प्रवृत्र् िनेपाली जातिको हुनै नसक्ने बताए ।
उनले भने, ‘नेपाली गरि खाने जाति हो, लुटेर खाने जाति होइन । अरूको सम्पत्ति लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति तोडफोड गर्नेहरूले नेपाली हुँ भन्न पनि लाज मान्नुपर्छ ।’