निर्भीक ढंगले मतदान गर्ने अधिकार सुनिश्चित गर्न माग
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको वातावरण सन्त्रासमय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
एमाले प्रचार विभाग प्रमुख मिनबहादुर शाहीले सरकारले शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन नसकेको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट एमालेको नेतृत्व र चुनाव चिन्हमाथि प्रहार भइरहेको आरोप लगाए । निर्वाचन नजिकिँदै जाँदा मुलुक थप भयभीत र सन्त्रासमय बन्दै गएको उनको भनाइ छ।
'सरकारले शान्ति सुरक्षाको वातावरणलाई विश्वासयोग्य बनाउन सकेको छैन। हजारौँ कैदीबन्दी र लुटिएका हातहतियार बाहिरै रहनुले अवाञ्छित गतिविधि बढ्ने हाम्रो पूर्वानुमान पुष्टि हुँदै गएको छ,' शाहीले भने ।
रौतहटको गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यूले मतदातामा त्रास फैलाएको उल्लेख गर्दै उनले निर्भीक ढंगले मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरे ।