नेकपाले शुरू गर्यो मतदाता शिक्षा अभियान
बिर्तामोड । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले झापा क्षेत्र नम्बर २ मा मतदाता शिक्षा अभियान शुरू गरेको छ । मङ्गलबारबाट अभियान शुरू गरिएको हो ।
पार्टीका केन्द्रीय सदस्य धन बहादुर पङ्धाकको संयोजकत्वमा अभियान शुरू गरिएको छ । मतदाताले जाहेर गरेको मत बदर नहोस् भन्ने उद्देश्यले अभियान शुरू गरिएको संयोजक पङ्धाकले बताए । 'देशको भविष्य कोर्ने सांसद छान्ने प्रक्रिया महत्वपूर्ण हो,' उनले भने, 'झट्ट हेर्दा सामान्य लागे पनि एउटा मत अन्त्यन्तै महत्वपूर्ण हुने भएकाले बदर हुन नदिन हामी मतदातालाई सिकाउँदैछौं ।'
नमूना मतपत्र, स्वस्तिक छाप साथमै बोकेका उनले मतदातालाई कसरी मत हाल्ने, मतपत्र कसरी पट्याउने भनेर सिकाउने बताए । झापा क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार धर्मशिला चापागाईंलाई हालेको मत बदर नहोस् ताकि सहज जीत हासिल गराउन सकियोस् भन्ने उद्देश्यले मतदाता शिक्षा अभियानलाई तीव्रता दिइएको मतदाता शिक्षा उपसमिति सदस्य तथा पार्टीका प्रदेश सचिवालय सदस्य तीर्थ सिग्देलले बताए ।

मङ्गलबार बुद्धशान्ति १,२ र ३, अर्जुनधारा १ र १० मा पुगेर मतदाता शिक्षा सम्बन्धी पार्टीका जिम्मेवार नेताहरुसंग छलफल गर्नुका साथै आवश्यक सामाग्री समेत हस्तान्तरण गरिएको संयोजक पङ्धाकले बताए । झापा क्षेत्र नम्बर २ का बाकी अन्य वडाहरूमा बुधबार अभियान सञ्चालन गरिने उनले जानकारी दिए । वडाका नेता कार्यकर्ताहरु मतदाताको घर घर मै पुगेर भोट हाल्न सिकाउने निर्वाचन परिचालन समिति संयोजक हरिकुमार रानाले बताए ।
चुनाव चिन्हमा कसरी स्वस्तिक छाप लगाउने, कसरी मतपत्र पट्याउने जस्ता विषय जानकारी नहुँदा प्रत्येक निर्वाचनमा ठूलो संख्यामा मतपत्र बदर हुने गरेको छ। यता निर्वाचन आयोगले प्रत्येक वडामा मतदाता शिक्षा स्वयंसेवक र प्रत्येक पालिकामा मतदाता शिक्षा अनुगमन संयोजक नियुक्त गरेको भएपनि प्रभावकारी कम हुन सकेको छैन ।