नेपालमा संगठित अपराध गर्न खोज्ने ६ भारतीयसहित ७ जना पक्राउ
बिर्तामोड । सरकारी छाप, दस्तखत तथा कागजात किर्ते गरी ठगी गर्न खोज्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी गण नं. २ गण हेडक्वाटर झापाले संगठित अपराध गर्न खोज्ने ६ जना भारतीयसहित ७ जनालाई पक्राउ गरेको हो ।
फागुन १२ गते बेलुका ६ बजे २ वटा भारतीय नम्बर प्लेटको सवारीसाधनमा शंकास्पद रुपमा चन्द्रगढी भद्रपुरबाट काँकडभिट्टातर्फ गईरहेको अवस्थामा भद्रपुरस्थित सशस्त्र प्रहरी बल नेपालको नम्बर २ गण हेडक्वार्टर झापाले चेकजाँच क्रममा भारत पश्चिम बंगाल राज्यआदर्श पल्ली बस्ने वर्ष ४५ को अरिन्दम धर, भारत पश्चिम वंगाल राज्य सारत पल्ली बस्ने वर्ष ३६ की दिपा भौमिक, भारत पश्चिम वंगाल राज्य चन्द्र मोहन गुहा रोड, हरिनभी, साउथ २४ पार्गानास बस्ने वर्ष ३५ को सुमन सरकार, भारत पश्चिम वंगाल राज्य पार्गानास मुसलमान पारा बस्ने वर्ष ३७ को नुर कलाम शेख, भारत पश्चिम बंगाल राज्य जलपाईगुरी बस्ने वर्ष ५२ को अबेद अली होसैन, भारत पश्चिम वंगाल राज्य उमाचरनपुर फालाकाता बस्ने वर्ष २० को फारुक अज्मी, झापा कमल गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ४३ को देवेन्द्र सापकोटालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धानको क्रममा उनीहरुले संगठित रुपमा ठगि, अपराधिक लाभ लगायतको उद्देश्य राखि नोट आकारको सादा कागजको प्रत्येक बन्डलमा तल माथि सक्कली कागजी मुद्रा राखि र साथमा सरकारी कार्यालयको पत्र समेत राखि आफुले व्यापारमा लगानी गरि नाफा कमाएको रकम कानुनी अड्चनको कारण नेपालको कानुन कार्यान्वयन गर्ने निकायले जफत गरेको र सो रकम भारत तर्फ ल्याउन पेनाल्टी स्वरुप जरिवाना वापतको रकम बुझाउनुपर्ने भएकाले केही रकम आवश्यक परेको भनि चिनाजान वा व्यापारिक पृष्ठभुमिका व्यक्तिहरुलाई उक्त भिडियो सन्देश पठाई ठगि गर्ने योजना बनाएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले उनीहरुले मेचीनगर नगरपालिका वडा नम्बर ४ आमडाँगीस्थित लुकाई राखिएको २१ वटा टिनको बाक्सा र २३७ बन्डल नोट आकारको सादा कागज बरामद गरिएको साथै निजहरुको साथबाट सरकारी छाप तथा दस्तखत किर्ते कागजातहरु, नेपाल सरकारको निशान छाप र नेपाल प्रहरीको किर्ते गरी बनाईएको परिचय पत्रसहित नक्कली सरकारी डकुमेन्टहरु समेत बरामद गरेको छ ।
प्रहरीले डब्लु बी ०६ यु ३००६ र डब्लु बी ०६ एक्स ०३०० नम्बरको गाडी बरामद गरेको जनाएको छ ।
उनीहरुले किर्ते गरि बनाइएका कागजातहरु सत्य हुन भनि विश्वास दिलाउन नोटरिपब्लिकबाट प्रमाणित गराउनु पर्ने भएकाले भारतबाट काकडभिट्टा नाका हुँदै चन्द्रगढी आएको प्रहरीले जनाएको छ ।
उनीहरुले नेपाल भारत सीमा क्षेत्रमा बिगतका दिनहरुमा उल्लेखित ठगी धन्दा लगायत अन्य किसिमका स्क्यामहरु गरि दुबै मुलुकका मानिसहरुलाई बिश्वासमा पारि ठगि गरि पिडित बनाएको हुनसक्ने भन्दै प्रहरीले यदि कोहि मानिस त्यसरी ठगिएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहित २०७४ बमोजिम लिखत सम्बन्धी कसुर अन्तरगत अनुसन्धान तथा कारवाही हुने जिप्रका झापाका सूचना अधिकारी डीएसपी खड्काले बताए ।