२०८३ बैशाख ६ गते , आईतबार

दार्चुला र ओखलढुंगाका केही मतदान केन्द्रमा निर्वाचन बहिष्कार

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २१ गते , विहीबार
दार्चुला र ओखलढुंगाका केही मतदान केन्द्रमा निर्वाचन बहिष्कार

बिर्तामोड । दार्चुला जिल्लाको दुई मतदान केन्द्र र ओखलढुङ्गाको एउटा केन्द्रमा मताधिकार भएका स्थानीयले निर्वाचन नै बहिष्कार गरेका छन् ।  दार्चुलाको नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३ जिल्लाको स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्र तथा ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७, सातसल्ले मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका हुन् ।
स्थानीयको बहिष्कारका कारण प्रत्यक्षतर्फको मतपेटिका रित्तै बोकेर कर्मचारीहरू सदरमुकाम फर्किँदैछन् । तीनै मतदान केन्द्रका अस्थायी मतदाता (कर्मचारी)ले मात्रै समानुपातिकतर्फ मतदान गरे ।
गौरीशंकर मावि नागुका सहायक मतदान अधिकृत देवसिंह फर्सवानका अनुसार समानुपातिकतर्फ ९ मत खसेको छ । बाटो अप्ठ्यारो भएका कारण शुक्रबार मात्रै सदरमुकाम खलंगा फर्किने उनको भनाइ छ । यस मतदान केन्द्रमा ६०२ जना मतदाता थिए ।
उता अपिहिमाल गाउँपालिकामा रहेको दुधिला आधारभूत विद्यालयमा समानुपातिकतर्फ ८ मत खेको छ । स्थानीयले बहिष्कार गरेका कारण कर्मचारीले हालेको समानुपातिकतर्फको मात्रै मत लिएर सदरमुकाम फर्किएको मतदान अधिकृत प्रेमराज अवस्थीले जानकारी दिए ।
‘प्रत्यक्षतर्फको मतपेटिका रित्तो लिएर झस्कुबाट हिडेका छौं । यो मतदान केन्द्रमा ३४६ जना मतदाता थिए’ उनले भने ।
नागुबासीले एक महिनादेखि नागुमा सडक लगायतका विकास निर्माणको माग राख्दै निर्वाचन बहिष्कारको घोषणा गरेका थिए । नागुबासीलाई फकाउन राजनीतिक दलले सार्वजनिक अपिल, भर्चुअल संवादसमेत गरेका थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले पनि स्थानीयसँग छलफल गरेका थिए ।
यहाँका स्थानीयलाई बुधबारमात्रै पनि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यसचिव वैकुण्ठ अर्यालले नागु पुगेर छलफल गरेका थिए । तर स्थानीय आफ्नो अडानबाट टसमस भएनन् ।
त्यस्तै ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७, सातसल्ले मतदान केन्द्रमा मतदाताले मतदान बहिष्कार गरेका छन् । 
मतदानका लागि सम्पूर्ण तयारी पूरा भए पनि मतदाता उपस्थित नहुँदा बिहानको समय शून्य मतदानमा बितेको हो। प्रत्यक्षतर्फ स्थानीयले मतदान बहिष्कार गरेपनि समानुपातिकतर्फ कर्मचारीको चार मत खसेको छ । 
मतदान अधिकृत परबासी राईका अनुसार मतदान केन्द्रमा कर्मचारी, सुरक्षा व्यवस्था लगायत सबै तयारी अवस्थामा रहे पनि स्थानीय स्तरमा देखिएको असन्तुष्टिका कारण मतदाता उपस्थित नभएका हुन् । 
स्थानीयका अनुसार टोक्सेलमा प्रादेशिक अस्पताल निर्माणका लागि १६७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराइएको थियो। सोही आधारमा अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भए पनि निर्माणका लागि आवश्यक बजेट विनियोजन नभएपछि जनप्रतिनिधिप्रति असन्तुष्टि बढेको हो।
यस विषयलाई लिएर स्थानीय माधव ढुङ्गानाको नेतृत्वमा सङ्घर्ष समिति गठन गरिएको छ। समितिले अस्पताल निर्माणका लागि बजेट सुनिश्चित नभएसम्म मतदानमा सहभागी नहुने निर्णय गरेको जानकारी गराएको छ ।

सम्बन्धित समाचार