लालकिल्ला बढार्दै रास्वपाले बनायो ‘घण्टी किल्ला’
बिर्तामोड । २०२८ को झापा विद्रोहसँगै थुप्रै राष्ट्रिय राजनीतिक आन्दोलन छेडेको र बामपन्थी नेताहरु जन्माएको झापा २०८२ सम्म आउँदा लालकिल्ला तोडिएको छ । यस अघि बहुसंख्यक क्षेत्रमा बामपन्थी नेताहरु विजयी हुँदै आएको झापामा प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीले क्लीन स्वीप हानेको छ ।
प्रमुख दुई पार्टीका अध्यक्षहरु नेकपा एमालेका केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले पराजय भोग्नु परेको छ । २०७९ सालको निर्वाचनमा झापाको तीन वटा क्षेत्र जितेको नेकपा एमालेले यस निर्वाचनमा सबै क्षेत्रमा शर्मानक हार व्यहोर्नु पर्यो । यस अघि नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नं. २ मा विजयी बनेका प्रतिनिधीसभाका निवर्तमान सभामुख देवराज घिमिरे रास्वपाकी उम्मेदवार तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरसँग पराजित हुनुपर्यो । त्यस्तै झापा क्षेत्र नं. ४ बाट विजयी भएका नेकपा एमालेका लालप्रसाद सावाँ रास्वपाका शम्भुप्रसाद ढकाल र झापा ५ बाट विजयी भएका केपी ओली रास्वपाका बालेन शाहसँग लज्जास्पद हार व्यहोर्नु परेको छ ।
यता झापा क्षेत्र नं. १ मा रास्वपाकी निशा डाँगी विजयी भएकीछन् । उनी ४५६८० मतसहित विजयी बनिन् । उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेलाई ३५१३० मतान्तरले पराजित गरिन् । त्यस्तै झापा क्षेत्र नम्बर ३ मा रास्वपाका प्रकाश पाठकले राप्रपाका अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनलाई दोब्बर बढी मतान्तरले पराजित गरे । पाठक रास्वपा झापाका कार्यवहाक सभापतिसमेत हुन् । यस अघि उनी राप्रपा अध्यक्ष लिङ्देनसँग पराजित भएका थिए ।