तीन पूर्व प्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान गरिँदै
झापा । तीन पूर्व प्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान गर्न थालिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा प्रहरीले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्यसबारे अनुसन्धान अघि बढाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । ती अधिकृतले भने, ‘उहाँहरूको सम्पत्तिमाथि अनुसन्धान गर्ने सिलसिलामा आज बिहान पूर्वमन्त्री दीपक खड्कालाई नियन्त्रणमा लिइएको हो ।’
खड्कामाथि अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरणले नै सीआईबीलाई पत्राचार गरेको थियो । सीआईबीले कांग्रेस नेता समेत रहेका दीपक खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अदालतबाट म्याद लिँदैछ ।
प्रहरीले पूर्व प्रधानमन्त्रीहरूको चल, अचल सम्पत्ति र आम्दानीको स्रोत लगायतको विषयमा अनुसन्धान गर्नेछ ।