भरी सिलिण्डर ग्यास प्रयोगमा ल्याउने तयारी हुँदै
बिर्तामोड । आपूर्ति सहज हुन थालेपछि सरकारले पूरा तौल भरिएको (१४.२ किलो) ग्यास सिलिन्डर पुनः प्रयोगमा ल्याउने गृहकार्य अघि बढाएको छ । २९ फागुनदेखि बजारमा आधा ग्यास (७.१ किलो) भरिएको सिलिन्डर मात्रै प्रचलनमा छ ।
आपूर्ति सहज भई उद्योगहरूमा ठुलो मात्रामा ग्यास भण्डारण भएकाले पूरा तौल भरेर बजारमा सिलिन्डर पठाउन थाल्नुपर्ने उद्योगीको मत छ । उनीहरूले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र आयल निगमका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टलाई पनि हालको मौज्दात र बिक्री अवस्थाबारे जानकारी गराएर तत्काल पूरा तौल भरिएको ग्यास सिलिन्डर प्रयोगमा ल्याउन सुझाव दिइसकेका छन् । एलपी ग्यास उद्योग संघले शुक्रबार दिउँसो आयल निगमलाई बुझाएको तथ्यांकमा बजार माग घटेका कारण देशभर रहेका उद्योगमा आठ सय टन ग्यास मौज्दात बसेको छ । सो परिमाणबाट पाँच लाख ६३ हजार तीन सय ८० वटा सिलिन्डरमा पूरा ग्यास भर्न पुग्छ ।
त्यस्तै, बजारबाट खाली सिलिन्डर नआउँदा उद्योगले ‘रिफिल’ गर्न नपाउँदा थप २४ सय टन ग्यास विभिन्न बुलेटमै थन्क्याएर राख्नुपर्ने तथ्यांक पनि संघले निगमलाई दिएको छ । संघका अनुसार भारतबाट ग्यास लिएर आएका एक सय ३३ वटा बुलेट विभिन्न उद्योगपरिसरमा अहिले पार्किङ भएर बसेका छन् । ती बुलेटमा रहेका ग्यास खन्याउने ठाउँ नहुँदा समस्या भइरहेको संघ अध्यक्ष दिवान चन्द्रले जानकारी दिए । ‘अहिले ग्यासको न्यून माग छ, जसकारण बजारबाट उद्योगमा खाली सिलिन्डर आएका छैनन्,’ उनले भने, ‘यस्तो वेला आधा परिमाण मात्रै भरेर पठाउँदा आयात भएको ग्यास बुलेटमा मौज्दात राख्नुपर्दा समस्या उत्पन्न हुन थालेको छ ।’ उनले भारतीय बुलेटमा लामो समय ग्यास राख्दा विलम्ब शुल्क दिनुपर्ने अवस्थासमेत आउनेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए । अर्कातिर, उद्योगपरिसरमा ठुलो मात्रामा ग्यास भण्डारण गरेर राख्दा जोखिम पनि हुने उनले बताए ।
आयल निगमको एलपिजी तथा एभिएसन विभाग प्रमुख विनीतमणि उपाध्यायले पनि पूरा तौल भएको सिलिन्डर प्रचलनमा ल्याउनेबारे गृहकार्य भइरहेको, तर निर्णय हुन बाँकी रहेको बताए । ‘आधा ग्यास मात्रै बजारमा पठाइरहँदा उपभोक्तालाई पनि सास्ती भइरहेकोबारे जानकारी आएको छ । अर्कातिर, उद्योगीले पनि समस्या देखाइसकेका छन्,’ उनले भने ।
आयल निगमले टेकुस्थित पुरानो कार्यालयमा राखेको अस्थायी ग्यास डिपो पनि हटाएको छ । आपूर्ति सहज भएर उपभोक्ताहरू ग्यास नै खरिद गर्न नआएपछि वैशाख लाग्नासाथ टेकुको अस्थायी डिपो बन्द गरेको उपाध्यायले जानकारी दिए ।
ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले तत्काल १४.२ किलोको ग्यास सिलिन्डर प्रचलनमा ल्याउनुपर्ने बताए । ‘उपभोक्ता, विक्रेता र उद्योगीलाई मात्र होइन, सरकारका लागि पनि फाइदा हुने भएकाले तत्काल १४.२ किलोको ग्यास प्रयोगमा ल्याउनुपर्छ,’ उनले भने, ‘अहिले बुलेट खडा गरेर राख्ने र पछि महँगो मूल्यको ग्यास लिन फेरि जानुपर्ने बाध्यता हुन सक्छ । त्यसैले अहिले सबै बुलेट खाली गरेर ग्यास जतिसक्दो धेरै ग्यास ल्याउनुपर्छ । किनभने, फेरि मूल्य बढ्न सक्ने खतरा छ । त्यतिवेला महँगो ग्यास आयात गर्नुभन्दा अहिले नै धेरै ग्यास ल्याएर राख्नुपर्छ ।’