२०८३ आश्विन १७ गते , शनिबार

आन्दोलन चर्कंदै गएपछि भारतको १६ मेट्रो स्टेशन बन्द

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण ६ गते , बुधबार
आन्दोलन चर्कंदै गएपछि भारतको १६ मेट्रो स्टेशन बन्द

झापा । भारतको दिल्लीस्थित जन्तर–मन्तरमा ‘कक्रोच जनता पार्टी’ (सिजेपी) को आन्दोलन चर्किएपछि दिल्ली मेट्रो रेल कर्पोरेसनले सुरक्षाको कारण देखाउँदै मध्य दिल्लीका १६ वटा मेट्रो स्टेसन अस्थायी रूपमा बन्द गरेको छ ।

स्टेसनका प्रवेश र निकासद्वारहरू एक्कासि बन्द गरिएपछि कार्यालय जाने कर्मचारी, विद्यार्थी र सर्वसाधारण यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् ।

राजीव चोक, सेन्ट्रल सेक्रेटारियट, मन्डी हाउस, आइटिओ र खान मार्केट जस्ता व्यस्त स्टेसनहरू बन्द भएपछि यात्रुहरू वैकल्पिक यातायातका साधन खोज्न र रूट परिवर्तन गर्न बाध्य भएका छन् ।

कर्पोरेसनले सामाजिक सञ्जाल ुएक्सु मार्फत जानकारी दिँदै यात्रुहरूलाई स्टेसन बाहिर निस्कन वा प्रवेश गर्न नदिए पनि मुख्य स्टेसनहरू—राजीव चोक, मन्डी हाउस र सेन्ट्रल सेक्रेटारियटमा अन्य लाइनको रेल फेर्ने सुविधा भने यथावत् राखिएको जनाएको छ ।

संसदको जारी मनसुन अधिवेशनबीच जन्तर–मन्तरमा हजारौं विद्यार्थी तथा प्रदर्शनकारीहरू भेला भई संसदतर्फ अघि बढ्न खोजेपछि दिल्ली प्रहरीको सिफारिसमा रेल कर्पोरेसनले यो कदम चालेको हो ।

यसबीच जन्तर–मन्तरमा हजारौंको संख्यामा प्रदर्शनकारीहरू भेला भइरहेका छन्। माग पूरा नभए ‘लाखौं जनता सडकमा ओर्लिने’ सिजेपी प्रवक्ता आशुतोष रांकाले चेतावनी दिएका छन् ।

आन्दोलन चर्किँदै गएपछि र विभिन्न राजनीतिक दलहरूले प्रदर्शन जारी राखेपछि गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बल (सिआरपिएफ) का थप २० कम्पनी तुरून्त दिल्लीमा खटाउन आदेश दिएको छ । एक कम्पनीमा १०० जवान हुन्छन् ।

ती जवानहरूलाई बंगालबाट एयरलिफ्ट गरी दिल्ली ल्याइँदैछ ।

अहिले दिल्लीस्थित संसद भवन, रफी मार्ग, कनेक्ट प्लेस र जन्तर–मन्तर वरपर ठूलो संख्यामा ब्यारिकेड बनाएर सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ ।

उता नीट (राष्ट्रिय योग्यता) परीक्षामा भएको भनिएको अनियमितता र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलनरत कक्रोच जनता पार्टी (सिजेपी) ले सरकारसँग ‘तटस्थ स्थान’मा वार्ता गर्न तयार रहेको जनाएको छ ।

पार्टीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालय वा निवासमा नभई जन्तर–मन्तर वा ‘कन्स्टिट्युसन क्लब अफ इन्डिया’ जस्ता तटस्थ स्थलमा वार्ता हुनसक्ने बुधबार बताएका छन् ।

सिजेपी प्रतिनिधिमण्डलले केन्द्रीय मन्त्री जेपी नड्डासँग भेट्ने सम्भावना छ ।

सम्बन्धित समाचार