२०८३ बैशाख ६ गते , आईतबार

जसलाई रतुवाको बाढीले ‘घाटे’ बनायो

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ३ गते , शुक्रबार
जसलाई रतुवाको बाढीले ‘घाटे’ बनायो

बिर्तामोड । झापाको प्रसिद्ध आर्यघाटको रुपमा रहेको कनकाईमा प्राय मानिसको भिडभाड हुने गर्दछ । त्यहि भिडमा सँधै व्यस्त रहन्छन योगनाथ धमला । उनी कहिले चिता बनाउँदै हुन्छन त कहिले जल्दै गरेको लाशमा दाउरा थप्दै हुन्छन ।

                       योगनाथ धमला


उमेरले ६८ वर्ष पुगिसकेका धमलाले ‘घाटे जीवन बिताउन थालेकोपनि ४६ बर्ष बितिसकेको छ । उनी शव जलाएरै आफ्नो जीवन धानिरहेका छन । भारतको मसानघाटबाट सुरु भएको उनको घाटे जिन्दगी चितवनको देवघाट हुँदै यतिबेला झापाको कन्काई माईको तीरमा आइपुगेको छ ।

हामी कनकाई पुग्दा मलामीको भीड थियो । धमलाचाँहि शव जलाउन व्यस्त थिए । शव जलाउनु धमलाको दैनिकी हो

शव जलाएर जिविका गुजारिरहेका धमला घाटे बन्नुको पछाडी केहि हृदयविधारक कहानी रहेको बताउँछन । ओखलढुंगाको बेतनीमा जन्मिएका धमलाको परिवार ०२९ सालमा बसार्इँ सरेर झापा झर्यो। धमला परिवारले महारानी झोडामा एउटा सानो झुप्रो बनाएका थिए । बिडम्बना रतुवाको बाढीले एक दिन उनको झुप्रो बगाएर लग्यो ।

रतुवाले झुपडी बगाएको एक वर्ष बित्न नपाउँदै योगनाथका बुबा हरिप्रसादको देहान्त भयो। परिवारमा आमा विष्णु र भाइ रुद्रप्रसाद थिए। बुवाको निधनपछि परिवारको जिम्मा योगनाथको काँधमा आएपनि विकल्प केही थिएन। आमा र भाइ बाध्य भएर फेरि पहाड फर्किए। योगनाथ चाहिँ कलिलै उमेरमा भारततिर छिरे

सुरु योगनाथ काशी हुँदै गया पुगे। त्यहाँ उनले केहि समय मिस्त्री काम गरे। केही समय भैंसी गोठमा काम गरे। अरुणाञ्चल पुगेर अदुवा खेती गरे। तर, यी कुनै पनि कामबाट चित्तबुझ्दो कमाइ भएन। योगनाथले मराठी व्यक्तिलाई साथी बनाएका थिए। तिनै मराठी साथीले भनेको ‘मूर्ख आद्मी, पैसा कमाना चाते हो तो चल हमारे साथ वाक्यले नै यहाँसम्म ल्याइपुर्याएको बताउँछन । साथीको कुरा सुनेर उनको पछि लागेका धमलालाई त्यहाँको घाटमा पुर्याए। धमलालाई मराठीले १२ वटा दाउरा चिरेर २४ वटा बनाउन सिकाए उनले। भारतीय घाटमा आम्दानी पनि राम्रै हुन्थ्यो। योगनाथ सम्झन्छन ‘त्यतिबेला सानै थिएँ, बच्चारहेछ भन्दै मलाई ८ आना, ४ आना दिन्थे। म ती पैसा बचाएर राख्थें

अर्काको मुलुकमा योगनाथ धेरै वर्ष टिक्न सकेनन्। मातृभूमि र परिवारको यादले दुःख दियो। उनले नेपाल फर्किने निर्णय गरे। ०५७ सालको कुरा हो। त्यसबेला योगनाथ केही रकमसमेत लिएर आए। शव पोलेरै उनले कमाएको रकम थियो त्यो अझ भनौं, बचत गरेको रकम। नेपाल आएर उनले मंगलबारेमा १० धुर जग्गा जोडे। घरसहितको जग्गा किनेका थिए। त्यहाँ छोराछोरीलाई राखे। सानैमा विवाह गर्ने चलन थियो, उनी भारत गएको समयमा विवाह गरेरै गएका थिए, श्रीमती बालबच्चासहित माइतमै थिइन्

रतुवाले बगाएर घाटमा पुगेको योगनाथको जीवन घेरै समय घरखेतमा बस्न सकेन। नियतिले उनलाई पुनः घाटमै पुर्यायो। मंगलबारेमा घरखेत किनेको केही महिनामै छोरी बिरामी भइन्। आफू पनि बिरामी भए। श्रीमती पनि विरामी थिइन्। क्रमशः परिवारका सबै सदस्यहरु बिरामी परे

उपचारका लागि उनले घरखेत बेचे। तर, पनि छोरीलाई बचाउन सकेनन्। फेरि उनी विरक्तिएर चितवनको देवघाटतिर लागे । त्यहाँ उनले पुनः शव जलाउने काम शुरु गरे

नारायणीमा उनले शव जलाउने ठेक्कै लिए। एउटा शव जलाए वापत १५ सय लिन्थे। यो मध्ये ३ सय रुपैयाँ समितिलाई दिन्थे। देवघाटमा खाना, लुगाफाटा, कोठाभाडा लगायत तिरेर पनि उनी महिनामा १५/२० हजार बचाउँथे। तर, उनी त्यहाँ पनि धेरै समय टिक्न सकेनन्। उनलाई पश्चिम नेपालको रहनसहन मन परेन उनले पूर्वै नै आउने सोँच बनाए र दुई वर्षपनि नबित्दै उनी चितवनबाट फेरि झापा फर्किए। यहाँ आएर केही समय मिस्त्री काम गरे

योगनाथका अनुसार मिस्त्री काम गर्न उनलाई जुरेको रहेनछ। मिस्त्री काम गर्दा गर्दै एकदिन घरको छतबाट खसेर उनको खुट्टा भाँचियो। उनलाई उपचारका लागि धरान लगियो । डाक्टरले खुट्टा तीन ठाउँमा भाँच्चिएको र स्टिल लगाउनु पर्छ भनेको सुनेपछि उपचार नगरी फर्किने मनसाय बनाए । उनी उपचार नै नगरी फर्किए। सामान्य रोकथामको काम मात्रै भयो। जबरजस्ती झापा आए र जडीबुटी लगाए। काउलो, सिकारीलहरा इत्यादि पकाएर खुट्टामा लगाए। झोल बनाएर खाए। बाँसको भाटो खिपेर आफैं काम्रो बाँधे । नभन्दै ८ महिनापछि उनी सामान्य हिँड्डुल गर्न सक्ने भए

उनले बैसाखी टेकिरहेकै थिए। त्यहीबेला अहिलेको कनकाई आर्यघाट संस्थाका अध्यक्ष प्रभाखर कडरियाले उनलाई भेटे। काम गर्ने कर्मचारी चाहिएको रहेछ। उनले बैसाखी टेकेरै काम सुरु गरे

योगनाथलाई कनकाई घाट व्यवस्थापन समितिले बिल काट्ने र मलामी आउनेलाई दाउरा दिने कामका लागि राखेको हो। तर, उनी यो सँगै शव जलाउने काममा पनि व्यस्त रहन्छन । यसो गरेवापत उनलाई मलामीले केही पैसा दिन्छन्। ‘कहिलेकाहिँ चन्दा उठाएर शव जलाउन ल्याएका हुन्छन्, धमला भन्छन्, ‘त्यस्ताको चाहिँ सित्तैमा गर्छु। सेवा पनि त गर्नु पर्याे नि !’

धमलाले एउटा शव जलाएवापत १५ सय रुपैयाँसम्म पाएका छन्। सरदर कनकाई आर्यघाटमा दैनिक ३/४ वटा शव अन्त्येष्टिका लागि ल्याइन्छन्। उनले एकै दिनमा ११ वटासम्म पनि शव जलाएकाछन्। ‘एभरेजमा हो, बढीमा ५/६ वटा आउँछन्, उनले भने

हाममीले धमलालाई भूतप्रेत र डरका विषयमा सोध्यौं ‘घाटमा भूतप्रेतले तर्साउँछ भन्छन् नि ? जतिबेलै शवसँग बस्नुहुन्छ, डर लाग्दैन ?’

के को हुनु भुत, धमलाले भने, ‘यो त सब मनको डर मात्रै हो। मनमा डर लियो भने त छाँयाले पनि तर्साउँछ। यत्रो वर्ष भइसक्यो शव पोलेको। तर, खै... ? अहिलेसम्म भुत भन्ने केही देखिएन। भुत हुन्छ भन्ने कुरा ‘भ्रम मात्रै हो

सम्बन्धित समाचार