जसलाई रतुवाको बाढीले ‘घाटे’ बनायो
बिर्तामोड । झापाको प्रसिद्ध आर्यघाटको रुपमा रहेको कनकाईमा प्राय मानिसको भिडभाड हुने गर्दछ । त्यहि भिडमा सँधै व्यस्त रहन्छन योगनाथ धमला । उनी कहिले चिता बनाउँदै हुन्छन त कहिले जल्दै गरेको लाशमा दाउरा थप्दै हुन्छन ।

योगनाथ धमला
उमेरले ६८ वर्ष पुगिसकेका धमलाले ‘घाटे’ जीवन बिताउन थालेकोपनि ४६ बर्ष बितिसकेको छ । उनी शव जलाएरै आफ्नो जीवन धानिरहेका छन । भारतको मसानघाटबाट सुरु भएको उनको घाटे जिन्दगी चितवनको देवघाट हुँदै यतिबेला झापाको कन्काई माईको तीरमा आइपुगेको छ ।
हामी कनकाई पुग्दा मलामीको भीड थियो । धमलाचाँहि शव जलाउन व्यस्त थिए । शव जलाउनु धमलाको दैनिकी हो ।
शव जलाएर जिविका गुजारिरहेका धमला घाटे बन्नुको पछाडी केहि हृदयविधारक कहानी रहेको बताउँछन । ओखलढुंगाको बेतनीमा जन्मिएका धमलाको परिवार ०२९ सालमा बसार्इँ सरेर झापा झर्यो । धमला परिवारले महारानी झोडामा एउटा सानो झुप्रो बनाएका थिए । बिडम्बना रतुवाको बाढीले एक दिन उनको झुप्रो बगाएर लग्यो ।
रतुवाले झुपडी बगाएको एक वर्ष बित्न नपाउँदै योगनाथका बुबा हरिप्रसादको देहान्त भयो । परिवारमा आमा विष्णु र भाइ रुद्रप्रसाद थिए । बुवाको निधनपछि परिवारको जिम्मा योगनाथको काँधमा आएपनि विकल्प केही थिएन । आमा र भाइ बाध्य भएर फेरि पहाड फर्किए । योगनाथ चाहिँ कलिलै उमेरमा भारततिर छिरे ।
सुरु योगनाथ काशी हुँदै गया पुगे । त्यहाँ उनले केहि समय मिस्त्री काम गरे । केही समय भैंसी गोठमा काम गरे । अरुणाञ्चल पुगेर अदुवा खेती गरे । तर, यी कुनै पनि कामबाट चित्तबुझ्दो कमाइ भएन । योगनाथले मराठी व्यक्तिलाई साथी बनाएका थिए । तिनै मराठी साथीले भनेको ‘मूर्ख आद्मी, पैसा कमाना चाते हो तो चल हमारे साथ’ वाक्यले नै यहाँसम्म ल्याइपुर्याएको बताउँछन । साथीको कुरा सुनेर उनको पछि लागेका धमलालाई त्यहाँको घाटमा पुर्याए । धमलालाई मराठीले १२ वटा दाउरा चिरेर २४ वटा बनाउन सिकाए उनले । भारतीय घाटमा आम्दानी पनि राम्रै हुन्थ्यो । योगनाथ सम्झन्छन ‘त्यतिबेला सानै थिएँ, बच्चारहेछ भन्दै मलाई ८ आना, ४ आना दिन्थे । म ती पैसा बचाएर राख्थें ।’
अर्काको मुलुकमा योगनाथ धेरै वर्ष टिक्न सकेनन् । मातृभूमि र परिवारको यादले दुःख दियो । उनले नेपाल फर्किने निर्णय गरे । ०५७ सालको कुरा हो । त्यसबेला योगनाथ केही रकमसमेत लिएर आए । शव पोलेरै उनले कमाएको रकम थियो त्यो अझ भनौं, बचत गरेको रकम । नेपाल आएर उनले मंगलबारेमा १० धुर जग्गा जोडे । घरसहितको जग्गा किनेका थिए । त्यहाँ छोराछोरीलाई राखे । सानैमा विवाह गर्ने चलन थियो, उनी भारत गएको समयमा विवाह गरेरै गएका थिए, श्रीमती बालबच्चासहित माइतमै थिइन् ।
रतुवाले बगाएर घाटमा पुगेको योगनाथको जीवन घेरै समय घरखेतमा बस्न सकेन । नियतिले उनलाई पुनः घाटमै पुर्यायो । मंगलबारेमा घरखेत किनेको केही महिनामै छोरी बिरामी भइन् । आफू पनि बिरामी भए । श्रीमती पनि विरामी थिइन् । क्रमशः परिवारका सबै सदस्यहरु बिरामी परे ।
उपचारका लागि उनले घरखेत बेचे । तर, पनि छोरीलाई बचाउन सकेनन् । फेरि उनी विरक्तिएर चितवनको देवघाटतिर लागे । त्यहाँ उनले पुनः शव जलाउने काम शुरु गरे ।
नारायणीमा उनले शव जलाउने ठेक्कै लिए । एउटा शव जलाए वापत १५ सय लिन्थे । यो मध्ये ३ सय रुपैयाँ समितिलाई दिन्थे । देवघाटमा खाना, लुगाफाटा, कोठाभाडा लगायत तिरेर पनि उनी महिनामा १५/२० हजार बचाउँथे । तर, उनी त्यहाँ पनि धेरै समय टिक्न सकेनन् । उनलाई पश्चिम नेपालको रहन–सहन मन परेन उनले पूर्वै नै आउने सोँच बनाए र दुई वर्षपनि नबित्दै उनी चितवनबाट फेरि झापा फर्किए । यहाँ आएर केही समय मिस्त्री काम गरे ।
योगनाथका अनुसार मिस्त्री काम गर्न उनलाई जुरेको रहेनछ । मिस्त्री काम गर्दा गर्दै एकदिन घरको छतबाट खसेर उनको खुट्टा भाँचियो । उनलाई उपचारका लागि धरान लगियो । डाक्टरले खुट्टा तीन ठाउँमा भाँच्चिएको र स्टिल लगाउनु पर्छ भनेको सुनेपछि उपचार नगरी फर्किने मनसाय बनाए । उनी उपचार नै नगरी फर्किए । सामान्य रोकथामको काम मात्रै भयो । जबरजस्ती झापा आए र जडीबुटी लगाए । काउलो, सिकारीलहरा इत्यादि पकाएर खुट्टामा लगाए । झोल बनाएर खाए । बाँसको भाटो खिपेर आफैं काम्रो बाँधे । नभन्दै ८ महिनापछि उनी सामान्य हिँड्डुल गर्न सक्ने भए ।
उनले बैसाखी टेकिरहेकै थिए । त्यहीबेला अहिलेको कनकाई आर्यघाट संस्थाका अध्यक्ष प्रभाखर कडरियाले उनलाई भेटे । काम गर्ने कर्मचारी चाहिएको रहेछ । उनले बैसाखी टेकेरै काम सुरु गरे ।
योगनाथलाई कनकाई घाट व्यवस्थापन समितिले बिल काट्ने र मलामी आउनेलाई दाउरा दिने कामका लागि राखेको हो । तर, उनी यो सँगै शव जलाउने काममा पनि व्यस्त रहन्छन । यसो गरेवापत उनलाई मलामीले केही पैसा दिन्छन् । ‘कहिलेकाहिँ चन्दा उठाएर शव जलाउन ल्याएका हुन्छन्’, धमला भन्छन्, ‘त्यस्ताको चाहिँ सित्तैमा गर्छु । सेवा पनि त गर्नु पर्याे नि !’
धमलाले एउटा शव जलाएवापत १५ सय रुपैयाँसम्म पाएका छन् । सरदर कनकाई आर्यघाटमा दैनिक ३/४ वटा शव अन्त्येष्टिका लागि ल्याइन्छन् । उनले एकै दिनमा ११ वटासम्म पनि शव जलाएकाछन् । ‘एभरेजमा हो, बढीमा ५/६ वटा आउँछन्’, उनले भने ।
हाममीले धमलालाई भूतप्रेत र डरका विषयमा सोध्यौं ‘घाटमा भूतप्रेतले तर्साउँछ भन्छन् नि ? जतिबेलै शवसँग बस्नुहुन्छ, डर लाग्दैन ?’
‘के को हुनु भुत’, धमलाले भने, ‘यो त सब मनको डर मात्रै हो । मनमा डर लियो भने त छाँयाले पनि तर्साउँछ । यत्रो वर्ष भइसक्यो शव पोलेको । तर, खै... ? अहिलेसम्म भुत भन्ने केही देखिएन । भुत हुन्छ भन्ने कुरा ‘भ्रम’ मात्रै हो ।’