आज तरुलहरुको पर्व ‘मकर सङ्क्रान्ति’ मनाइँदै
झापा । आज तरुलहरुको पर्व मकर (माघे) सङ्क्रान्ति हर्षोल्लासका साथ मनाइँदैछ । नेपालमा बसोबास गर्ने विभिन्न धर्मावलम्बी, जातजाति र समुदायले यसलाई साझा पर्वका रूपमा आआफ्नै तरिकाले मनाउने गरेका छन् ।
विभिन्न समुदाय एवम् धर्मावलम्बीहरुको साझा पर्वको सङ्गम माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भन्ने चलन छ । विशेष गरेर हिन्दु, बुद्धमार्गी र किराँत धर्मावलम्बी तथा विभिन्न समुदायले माघे सङ्क्रान्तिलाई साझा पर्वका रूपमा हर्षोल्लाससाथ मनाउने भएकाले यो दिनको विशेष महत्व रहेको छ ।
हिन्दुहरुले माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्तिका रुपमा रुपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती भनेर मनाउने गरेका छन् । त्यस्तै थारु समुदायले माघी र खिचरा पर्वका रुपमा मनाउने यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रुपमा मनाउँछन् ।
नेपालका अधिकांश समुदायको साझा चाड रहेकाले माघे सङ्क्रान्तिका दिन सरकारले सार्वजनिक विदा दिने गरेको थियो । यद्यपि आज शनिबार त्यसै पनि नियमित सार्वजनिक विदा परेको छ । समुदाय विशेषमा यो पर्व मनाउने तरिका फरक–फरक छ । तर सबैले आपसमा भेटघाट, रमाइलो र आफ्ना परम्परागत परिकारहरुका साथमा यो पर्व मनाउने गरेका छन् ।
थारु समुदायका लागि यो विशेष पर्व पनि हो । थारु समुदायसामु यो पर्व ‘माघी’ भनेर परिचित छ । माघी पर्व मेचीदेखि महाकालीसम्मका थारु समुदायले विशेष उल्लासका साथ मनाउँछन् । मध्य र सुदूरपश्चिमका थारु समुदायको बस्तीमा माघी उत्सव विषेश खालको हुने गर्छ ।
माघ १ गते थारु समुदायको नयाँ वर्ष सुरु हुन्छ । थारु समुदायले माघी पर्वमा पुरानो वर्षको समीक्षा र आगामी वर्षको लागि नयाँ योजना बनाउने काम गर्छ । अगुवाहरुका अनुसार आजको दिनलाई मान्यजनहरूसँग आशीर्वाद लिने, आफूभन्दा सानालाई आशिष दिने र सम्बन्धहरू नवीकरण गर्ने अवसरका रूपमा सदुपयोग गरिन्छ ।
माघी मनाउन थारुहरु विदा लिएर टाढा–टाढाबाट आफ्नो गाउँघर फर्किन्छन् । चेलिबेटीहरूलाई घरमा बोलाउने, मिठा परिकार खाने–खुवाउने र नाचगान गर्ने चलन छ । माछा, सुँगुरको मासु, मुसाको मासु, घोङ्गी, ढिक्री, जाँड, रक्सी थारु समुदायका विशेष परिकार हुन् । यी परिकार तयार पार्न थारु समुदायले धेरै मेहेनत गरेको हुन्छ ।
थारु समुदायमा गाउँको मुखिया चुन्ने काम पनि माघे सङ्क्रान्तिकै दिन गर्ने प्रचलन छ । माघ महिनामा मघौटा नाच नाच्ने गरिन्छ । सो नाचमा गाइने ‘सखिय हो, माघीक गुरी–गुरी जाँड’ भन्ने गीत निकै चर्चित पनि छ ।
माघे सङ्क्रान्तिसँगै किराँत नयाँ वर्ष पनि सुरु हुन्छ । पूर्वमा ताप्लेजुङसँगै पाँचथर, तेह्रथुम, इलाम, धनकुटा र सङ्खुवासभा लगायतका जिल्लामा बसोवास गर्ने लिम्बू समुदायले धुमधामका साथ किराँत नयाँ वर्ष मनाउने गर्छन् ।
किराँती राजा यलम्बरको शासन सत्तासँग इतिहास जोडिएको किराँत सम्बत नेपाल सम्बत भन्दा तीन हजार चार वर्ष जेठो छ । माघे सङ्क्रान्तिलाई किराँत लिम्बूहरुले यले तङबेसँगै ककफेवा तङनाम भनेर पनि मनाउने गर्छन ।
माघ १ बाट उच्च पहाडमा पाइने दुर्लभ प्रजातिको सेतो चाँप फुल्ने भएकाले मकर सङ्क्रान्तिलाई ककफेवा तङनाम भनिएको हो । आजको दिन लिम्बूहरु परम्परागत भेषभुषामा सजिएर आफन्तकहाँ जाने, धान नाच्ने र च्याबु्रङ नाच्ने तथा मान्यजनका हातबाट वनतरुल पोलेर टीका ग्रहण गर्ने परम्परा रहेको छ ।
माघे सङ्क्रान्ति पर्वलाई स्थान विषेशअनुसार मनाउने चलन छ । पहाडी भूभागमा बस्ने ब्राम्हण समुदायले बिहानै नुवाईधुवाई गरेर खिचडी खाने गर्छन् । घ्यू, मासको दाल र चामल मिसाएर खिचडी बनाउने गरिन्छ ।
माघे सङ्क्रान्तिमा घ्यू र चाकु पनि खाने चलन छ । पहाडी क्षेत्रमा विषेश त सखरखण्ड, तरुल र पिँडालु उसिनेर खाने चलन छ । कतिपयले घरमा मासको फुरौला र तिलको लड्डु पनि बनाउँछन् । दिउँसोको खाजाको रुपमा सेलरोटी पकाएर खाने चलन छ ।
धार्मिक मान्यता अनुसार पनि माघ महिना विषेश हुन्छ । सामान्यतया पुस महिनामा बिहे र व्रतबन्धजस्ता कार्यक्रम नहुने हुँदा माघ सुरु भए लगत्तै विवाहलगायत शुभकार्य गर्ने चलन छ । गाउँघरमा माघ लागेपछि जाडो सकिएर गर्मी सुरु हुने विश्वास पनि गरिन्छ ।