२०८३ बैशाख ६ गते , आईतबार

जसले घर बनाउन पैसा दियो, उसैको हत्या

sajilo news
परिवेश मिडिया
२०७९ असार १९ गते , आईतबार
जसले घर बनाउन पैसा दियो, उसैको हत्या

बिर्तामोड । झापा अर्जुनधारा-४ स्थित जुकेखाडी-साहसी टोलभित्रको ह्युमपाइपमा केहिदिन अघि बोरामा फेला परेको शवको पहिचान खुलेको छ । उक्त शव भारत गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाईको भएको झापा प्रहरीले जनाएको छ ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा बिर्तामोड प्रहरीले उनको हत्यामा संलग्न तीन जनालाई शनिबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा अर्जुनधारा-७ की ३२ वर्षीया जानुका देवी थापा, ४९ वर्षीय विजय भन्ने बृख बहादुर थापा र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका-१० बस्ने २५ बर्षीय सुरेश परियार रहेका छन् । उनीहरुलाई प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । फरार रहेका एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ५ लाखको सुपारी दिएर ती व्यक्तिको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । सुपारी लिएर बराह क्षेत्रका परियार र अर्का एक व्यक्तिले हत्या गरेको झापाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिए ।
गुजरात घर भएका मृतकसँग जानुका थापाको भारतमै चिनजान भएको थियो । ०७६ सालमा कामको सिलसिलामा थापा भारत पुगेकी थिइन् । सोही चिनजानका आधारमा भारतीय नागरिक नरेश कुमार अर्जुनधारा आएका थिए । प्रहरीका अनुसार ५९ हजार भारतीय नक्कली नोट सहित पक्राउ परेका मृतक इटहरीमा तारेख धाइरहेका थिए । तारेख कै लागि उनी नेपाल आएको प्रहरीको भनाई छ ।
०७६ सालमा मृतकले थापाको छोराछोरीका लागि खेलौना पठाएको बुझिएको छ । थापाले ती भारतीय नागरिकबाट घर निर्माणको लागि ५ लाख लिएको पनि अनुसन्धानबाट खुल्न आएको छ ।
बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले मृतक असार ७ गते भारतबाट अर्जुनधारा आएको जानकारी दिए । उनका अनुसार असार ८ गतेसम्म थापा कै घर बसेका मृतक ९ गते तारेखका लागि इटहरी गएर फेरि अर्जुनधारा नै फर्किएका थिए । ९ गते राती साढे ८ बजे मृतकसहित परियार र अर्का एक व्यक्तिले सँगै मादकपदार्थ खाएको र सोही समयमा कुटपिट गरि फलामको मार्तोलले शरिरका विभिन्न भागमा हिर्काएर हत्या गरेको प्रहरीको भनाई छ । तारिखको क्रममा अघिल्लो पटक नेपाल आउँदा मृतक जानुकाको घरमा बसेको र सो समयमा जानुकालाई दुर्व्यवहार गरेको हुँदा सोही समयमा जानुकाले उनको हत्या गर्ने योजना बनाएको एसपी पोखरेलले जानकारी दिए ।
अनुसन्धानमा उच्चस्तरको प्रविधि प्रयोग गरि मृतकको पहिचान गर्नुका साथै हत्यामा संलग्नहरुलाई पक्राउ गरिएको एसपी कुँवरको भनाई छ ।
हत्या गरे बापत थापाले परियारलाई २ पटकमा २ लाख र अर्का एक व्यक्तिलाई १ लाख दिएको अनुसन्धानबाट खुलेको छ । घटनास्थलबाट एउटा मोटरसाइकल, मार्तोल, फरुवा, खुकुरी, २ थान तन्ना, डोरी, झोला, ३ थान मोवाइल र २ वटा खाली बोतल फेला परेको थियो । प्रहरीका अनुसार हत्या पछि संलग्नहरुले पुर्ने सोच बनाएका थिए  तर अन्तिममा बोरामा प्याक गरेर थापाले आफ्नो मोटरसाइकलमा अर्का एक ब्यक्तिसहित लगेर ह्युमपाइपमा प्याँकेको प्रहरीले बताएको छ । उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित समाचार