कांग्रेसको १५औँ महाधिवेशन भोलिदेखि, नीति र नेतृत्व चयनमा केन्द्रित
झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित हुने महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा हुनेछ। कांग्रेसले महाधिवेशनलाई नेतृत्व चयनसँगै नीति, कार्यक्रम र पार्टीको आगामी दिशाबारे निर्णय गर्ने अवसरका रूपमा अघि बढाउने जनाएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनलाई केवल नेता चयनमा सीमित नराखी ‘नीति चयन’ को अधिवेशन बनाउने प्रयास गरिएको छ। उनका अनुसार यस क्रममा पार्टीको आगामी नीति, कार्यक्रम तथा समसामयिक विषय समेटिएका प्रतिवेदनमाथि छलफल हुनेछ।
उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने २१ र २२ गते पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि निर्वाचन गर्ने कार्यतालिका छ। करिब सात हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता शुक्रबार र शनिबार गरिएको छ।
प्रतिनिधिको दर्ता शुल्क ३ हजार ५०० रुपैयाँ तोकिएको छ। दर्तापछि प्रत्येक प्रतिनिधिलाई झोला उपलब्ध गराइएको छ। उक्त झोलामा पार्टीको विधान, डायरी, डटपेन, प्रतिनिधि परिचयपत्र तथा खाना, खाजा र नास्ताका लागि कुपन राखिएको प्रवक्ता चालिसेले बताए।