२०८३ बैशाख ५ गते , शनिबार

स्वर्णीमको गम्भीर दृष्टि दोष

sajilo news
राजेन्द्र गौतम
२०७९ चैत्र २३ गते , विहीबार
स्वर्णीमको गम्भीर दृष्टि दोष

पढाइका दृष्टिले मैले पिएचडी गरिनँ, डिग्री गरिनँ मलाई पढ्न, डिग्री - पिएचडी गर्न कसैले रोकेको होइन, पढ्न नसक्नु मेरो कमजोरी हो । यसमा कसैलाई दोषको भार थोपरेर जबर्जस्त अघि बढ्न खोज्नु स्वमूल्याङ्कन गर्नबाट चिप्लिनु हो
अबौद्धिकहरु चिप्लन्छन् । तर, एउटा बौद्धिक मानिस त्यसरी नचिल्पिएकै राम्रो। समय घर्की सक्यो, नचिप्लिएकै राम्रो भनेर अब हुनेवाला केही छैन। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अर्थक्षेत्रले पत्याएका स्वर्मीम वाग्ले बेसरम चिप्लिएका छन् । उनले काङ्ग्रेस छोडे भनेर यो टिप्पणी पटक्कै गरिएको होइन। कोही चिप्लिए पछि चिप्लियो भन्नू चाहिँ सर्वथा स्वभाविक हो।
बिपी कोइरालालाई कसैसँग तुलना गर्ने दुष्चेष्टा गरेसँगै वाग्ले पिलित्तै चिप्लिए। होच्याएको र उखानको सहायता लिएर वाग्लेलाई लल्कार्ने आसय पटक्कै होइन। नेपालीमा एउटा चल्तीको उखान छ ,'कहाँको राजाराम, कहाँको गने भँडारी' मात्रै स्मरण गरिएको हो । यसबाट कसैको मानमर्दन भएमा क्षमाप्रार्थी छु।
केहीदिन अघि काङ्ग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई छाँद हाल्न पुगेका स्वर्णीमले पूर्वसञ्चारकर्मी रवि लामिछानेसँग बिपीको तुलना गर्नु 'स्वर्णिम बौद्धिकता' को सर्वाङ्ग स्खलन हो। यसखाले टिप्पणीलाई भावावेषको उपज त मानिन्छ नै तर त्यो त्यत्तिमै सकिन्न। त्यस आसपासका कारक तत्वको पनि खोजी हुन्छ। नेपाली राजनीतिक वृत्तमा अहिले त्यसकै खोजी भइरहेको छ।
गत आइतबार चितवनमा वाग्लेले २०१५ सालमा बिपी कोइरालामा जस्तो हुटहुटी थियो अहिले रास्वपा सभापति लामिछानेसँग पनि त्यस्तै हुटहुटी रहेको टिप्पणी गरेका थिए। वाग्लेले त्यहाँ भनेका थिए, "०१५ सालको भिजन , ऊर्जा , आदर्श भएको यो देशलाई एउटा निश्चित समयसीमा भित्र यहाँ पुर्‍याउँछु भन्ने बिपीको हुटहुटीलाई रविसँग तुलना गर्न मिल्छ।"
तीन पुस्तादेखि आफ्नो परिवार काङ्ग्रेस भएको हवाला दिँदै पार्टी छोडेका वाग्लेले यस्तो टिप्पणी गर्नु नै काङ्ग्रेसको विरासत बिर्सनु हो। यस्तो हल्का टिप्पणीले स्वर्णीमको राजनीति सोच कमजोर धरातलमा अडेको थियो भन्ने प्रष्ट हुन्छ। यसमा थप बहस गर्ने नकाममा समय खर्चनु मात्रै हो। मयुरको कल्कीलाई मानिसले खुट्टामा लगाउने फलामे कल्लीसँग तुलना गरियो भने माल पाएर चाल नपाएको ठहर्छ।
आफू बसेको घर मन नपरेर छोडेपछि त्यस घरको 'आरति' उतार्नु मानवीय स्वभाव हो। सामान्य मानिस जस्तै स्वर्णीमले काङ्ग्रेस छाड्दा त्यही मानवीय स्वभाव देखाए। त्यसमा अधिकले खास टिप्पणी गरेनन्। त्यसको आआफ्नै कारण होलान्, छन् ।
स्वर्मीमले पार्टी छाड्दा भनेका थिए, 'देउवा-आरजु गिरोहको निरन्तर हेपाइले काङ्ग्रेसमा रहन सकिनँ।' नेता शेखर कोइराला महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा काङ्ग्रेस केन्द्रीय सदस्य गोविन्द्र पोखरेललाई सम्बोधन गरेर स्वर्णीमले सामाजिक सञ्जालमा लेखेका थिए,'प्रिय शेखर दाइ, गगनजी, विश्वप्रकाशजी र गोविन्दजी, हजुरहरुको अपार सद्भावका बावजुद म काङ्ग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो।'
त्यसबेला कतिपयले यसलाई स्वर्णीमले गरेक विष वमन भनेर टिप्पणी नगरेका होइनन् । धेरैले त्यो उनको निजी अभिव्यक्ति भनेर खास टिप्पणी गरेनन् । स्वर्मीमले काङ्ग्रेस छाड्दा अधिकले दु:ख नै माने, छोडेर जानू हुँदैन थियो भनेर सहानुभूति नै राखे।
काङ्ग्रेस महामन्त्रीद्वय शर्मा र थापाले उनलाई काङ्ग्रेसमा रोक्न प्रयास गरेको विषय सार्वजनिक भएकै हो। नेता अर्जुननरसिंह केसीले स्वर्णीमले काङ्ग्रेस परित्याग गरेको घटनालाई दुखद भनी सञ्चारमाध्यममा नै टिप्पणी गरेका थिए । तर, स्वर्णिमले बिपीका विषयमा भद्दा मजाक गरेपछि शर्माले चितवन र थापाले तनहुँमा वाग्लेका विषयमा कटु टिप्पणी गरे। तिनका फुटेज सञ्चारमाध्यममा अहिले पनि ताजै छन्, बहसको तातो विषय बनिनै रहेका छन् ।
आफूसँग हुँदा राम्रो, नहुँदा नराम्रो भन्ने हाम्रो पुरानै 'संस्कार' हो। तर, महामन्त्रीद्वय शर्मा र थापाले वाग्लेको आलोचना त्यो संस्कारमा अल्झेको छैन। थापाको संयोजकत्वमा बनेको स्थानीय तह निर्वाचनको संकल्पपत्र लेखन र शर्माको संयोजकत्वमा बनेको संघीय तथा प्रदेशसभा निर्वाचनको संकल्पपत्र लेखनमा वाग्ले महत्वपूर्ण जिम्मेवारीमा थिए।
पाँच वर्षका लागि काङ्ग्रेसको घोषणापत्र लेखिराखेर पाँच महिनामा नै पार्टी छाडेर बिपीको तुलना रविसँग गरेपछि शर्मा र थापा बिच्किनु नितान्त स्वभाविक हो। बौद्धिक वाग्लेको विज्ञता काङ्ग्रेसले उपयोग गर्नु पर्छ भनेर शर्मा र थापाले प्रयास गरेकै हुन् ।
राजनीति धरातल कमजोर भएका वाग्लेलाई काङ्ग्रेसमा स्थापित गर्न शर्मा र थापाले आलोचना सहेरै भएपनि समय खर्चेका हुन् । जब वाग्लेले काखमा बसेर पेटमा छुरी रोपे शर्मा र थापा बिच्किए। आश गरेको र माया लाएको मान्छे माया मारेपछि हुने यस्तै हो। वाग्लेप्रतिको शर्मा र थापाको टिप्पणीलाई यही रुममा लिनु र बुझ्नु वाञ्छनीय हुन्छ।
वाग्ले वैशाख १० गते हुने उपनिर्वाचनमा वाग्ले तनहुँ-१ र विपीसँग वाग्लेले तुलना गरेका लामिछाने चितवन-२ मा रास्वपाबाट चुनावी मैदानमा छन् । जहाँ वाग्लेको पर्खाल बनेर काङ्ग्रेसका गोविन्द भट्टराई र लामिछानेको बार बनेर चितवनमा जीतनारायण श्रेष्ठ खडा छन्। मनसँगै मत दिने स्वअधिकार त्यहीँका मतदातासँग छ। भोट यसलाई देउ, उसलाई देउ भनेर उर्दी गर्ने अधिकार पंक्तिकारलाई छैन। र, यो आलेख मार्फत त्यो गरिन्नँ, भनिन्न पनि ।
दुवै पार्टीका लागि यो चुनाव प्रतिष्ठाको विषय अवस्य नै बनेको छ। यस्तो बेला आलेखको माध्यमबाट मत प्रभावित पार्नु हुन्न। र, पंक्तिकारको आसय त्यो होइन। आलेखको मुख्य उद्देश्य बिपीसँग रविको तुलना हुन सक्दैन भन्ने सन्देश सम्प्रेषण गर्नु चाहिँ अवस्य नै हो।
काङ्ग्रेसबाट अलग हुँदै गर्दा वाग्लेले यस्तो लेखेका थिए, 'नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आमनैराश्य चिरेर यो देश बन्छ भन्ने आशा जगाउने हो, बनाउने नै हो।'
हो, ०८० सालसँगै नयाँ सार्वजनिक भूमिकामा आउने उद्घोष गरेका स्वर्णिम बैकल्पिक प्रजातान्त्रिक पार्टी खोल्लान् र नयाँ राजनीति शक्तिको निर्माण गर्लान् भन्ने अड्कल गरेका थिए, लख काटेका थिए। त्यो अनुमानलाई माथ खुवाउँदै संसद भन्ने लोभले रास्वपामा छिरेर तनहुँमा उम्मेदवार बनेपछि स्वर्णिमको छवि आफैँ बरकरार भयो।
बिपीसँग रविको तुलनाले त स्वर्णिमको बौद्धिक उचाइलाई धुलिसात नै बनायो । उपयुक्त समयमा सही कुरा गर्न चुक्यो भने मानिसको छवि घट्छ । स्वर्णिमको हकमा अहिले भएको त्यही हो। रविलाई बिपीसँग तुलना गरेर आगोमा घिउ थप्ने काम स्वयम् स्वर्णिमले गरेका हुन् ।
मुलुकको आवश्यकता र मुलुकबासीको मन छुने यस्तो मार्मिक अभिव्यक्ति दिएका वाग्ले एकाएक अर्को नेपाली उखान 'हलीको गोठालो ... ' लाई चरितार्थ गर्न किन तयार भए अहिलेको अहम् प्रश्न हो। यो प्रश्नले वाग्लेलाई वर्तमानमा मात्रै होइन, भविष्यमा पनि पछ्याइ रहने छ। किनकि,सबै पहेँलो धातुलाई सुन देख्नु वाग्लेको गम्भीर दृष्टि दोष हो।

सम्बन्धित समाचार