बिर्तामोड : चन्द्र शमशेरको बिर्ता
आफ्नो छैठौं कृतिको रुपमा तीर्थ सिग्देलद्धारा लेखिएको ‘बिर्तामोड उद्भव र विकास’ नामक पुस्तक प्रकाशनको अन्तिम तयारीमा छ । यसै सन्दर्भमा उक्त पुस्तकका लेखकद्वारा पुस्तकमा समेटिएका विषयमाथि यहाँ चर्चा गरिएको छ ।
किताबमा के छ <
यो किताबले मुलतः आजको बिर्तामोडको आधा शताब्दीको इतिहास झल्काउने प्रयास गरेको छ । महेन्द्र राजमार्गको रेखांकन भएको समयलाई आधार मानेर हेर्ने हो भने आजको बिर्तामोड उद्भव भएको आधा शताब्दीजति मानिन्छ । बिर्तामोड त्यही परिवेशमा उदाएको सहर हो । यहाँ त्यही समयसीमा भित्र रहेर यस पुस्तकभित्र केही लुकेका तथ्य र नखोजिएका सत्यहरुको उद्घाटन गर्ने प्रयास गरिएको छ ।
पूर्वी तराईमा मानिसहरुको आगमन र बसोवासको अवस्था त्यो भन्दा धेरै लामो छैन । त्यस अघिसम्म तराई क्षेत्रमा घना जंगल थियो । जताततै डकैती लाग्ने भएकाले असुरक्षा थियो । औलो र बिफरजस्ता प्राणघातक रोगको प्रकोप थियो । जब विस्तारै यी कठिनाईको अन्त्य भयो, त्यसपछि मानिसहरु तराई झर्न थाले । सरकारले आवादी खुल्ला गरेपछि र विदेशिएका नेपालीलाई सरकारले देश फर्कन आह्वान गर्यो, त्यसपछि बल्ल तराईले नयाँ रुप धारण गर्यो । त्यससँगै देशको मेरुदण्ड मानिएको महेन्द्र राजमार्गको रेखांकन भयो, अनि तराई गुल्जार भयो ।
नेपालमा अहिले सहर बनिसकेका तराईका अधिकांश स्थान पहिले जंगलामुलुक थिए । खासगरेर नेपालको तराई क्षेत्रमा पर्ने पूर्वदेखि पश्चिमसम्ममा सबैजसो स्थानमा जंगल थियो । राणा शासन रहँदासम्म पनि अधिकांश तराईमा ठुला बस्ती थिएनन् । धेरैजहाडतिर मानिसहरु बस्दथे । पहाडतिर बेलाबेला हुने हिंसात्मक घटना, बाढी पहिरो, बाघ भालुको डर र ब्यक्तिगत असुरक्षा लगायतका कारणले मानिसहरु बिस्तारै तराईतिर झर्ने चलन बढ्दै गयो ।
त्यो बेला नेपालमा औलोको प्रकोप ब्यापक थियो । नेपालको तराई क्षेत्रमा औलो उन्मुलन कार्यक्रम लागू हुनु पूर्व पूर्वी पहाडी क्षेत्रका साहु महाजनहरु तराईका व्यापारिक नाकाहरुमा गएर व्यापार व्यवसाय गर्ने गर्दथे । वर्षा लागेपछि औलो, कालाज्वर, कलेरा जस्ता रोगको प्रकोपको डरले फेरि पहाडतर्फ लाग्ने गर्दथे ।
जसका कारण मानिसहरु तराई झर्न डराउँथे । तर बिभिन्न कारणले प्रवासिएका नेपालीहरुलाई स्वदेश फर्काएर तत्कालीन सरकारहरुले तराईलाई आवाद गराउने योजना ल्याएपछि बस्ती बसाउने नाममा र बिभिन्न शक्तिको आडमा बनजंगल फाँड्ने र कब्जा गर्न थालियो । यसरी तराईमा औलो उन्मुलन भएपछि र पूर्व पश्चिम राजमार्ग निर्माण भएपछि पहाडमा बस्ने मानिसहरु तराईमा आकर्षित भएको पाइन्छ ।
त्यो बेला राणा शासन, दरवारका भारदार र आसेपासेहरुले आफ्ना मान्छेहरु मार्फत बन जंगल फाँड्न लगाउने कार्य गर्न थालियो । जिमदार, डिठ्ठा, बैदार, बिचारी, सुबेदारहरु मार्फत जंगल कब्जा गराएर काठ निकाल्ने र बिक्री गरेर आम्दानी खाने चलन चलाइयो । धेरै पछिसम्म नेपालको वन जागिरे, बिर्तावाल, राणा, दरवार, प्रशासक, सैनिकका उच्च अधिकारी र राजनीतिक ओहदाका मानिसहरुले निजीरुपमा उपभोग गरेका प्रशस्त उदाहरण छन् ।
त्यो समयमा तराई क्षेत्रमा बस्दै आएका, बस्ती बस्न योग्य बनाउने र बन जंगल आवाद गरेर खेतीपाती योग्य बनाउने भूमिपुत्रहरु हुन्, जसले जंगली जीव जन्तुसँग पौँठेजोरी खेलेर र औलो विफरजस्ता प्राणघातक रोगसँग जुधेर बसे । बिर्तामोडको भूगोलभित्रका सबैभन्दा पुराना जातिकारुपमा धिमाल, राजबंशी र सन्थालहरुलाई लिन सकिन्छ ।
बिर्तामोडः चन्द्र शमशेरको बिर्ता
यो क्षेत्र श्री ३ चन्द्रशमशेरका बडामहारानी र उनका सन्तानहरुको बिर्ता भएका कारण यस ठाउँलाई अनारमनी बिर्ता भन्न थालिएको इतिहास छ ।
चन्द्र शमशेर, वीर शमशेर र जुद्ध शमशेरका परिवारसँग मात्रै बिर्ताका रूपमा तीन लाख ६३ हजार बिगाहाभन्दा धेरै जग्गा रहेको थियो भनिन्छ । त्यसबेला दरवारका आसेपासे, राजगुरु, जसले शासकलाई खुशी बनाउन सक्थे उनीहरूले धेरै जमीन बिर्ताका रूपमा पाउने गरेका थिए ।
अनारमनीमा रहेका बिर्ताजग्गा र जंगलका काठको व्यवस्थापन सम्बन्धी कार्यका अतिरिक्त आवश्यकता अनुसारका काम झापा गोश्वाराको मातहतमा हुने गर्दथ्यो । राणा शासनकाल (वि.सं. १९९३ देखि २००७ सम्म) झापाको काठमाल तथा बिर्तामालको लप्टनी र हाकिमीको पदमा रहेका भूपालमानसिंह कार्कीको नामसँग यसको सम्बन्ध देखिन्छ ।
यो बेला उनका कर्मचारीहरुले यहाँबाट कर उठाउने गरेका थिए । स्थानीय काममालको काठ बिक्री र बिर्तामालका जग्गामा जिम्दारी, पटुवारी र रैतीको व्यवस्था गरी आवाद गुल्जार तुल्याउने काम उनले गरेको पाइन्छ । यो क्षेत्र श्री ३ चन्द्र शमशेरका बडामहारानी र उनका सन्तानहरुको बिर्ता भएका कारण यस ठाउँलाई अनारमनी बिर्ता भन्न थालिएको इतिहास छ ।
बिर्ताबजार राणा शासनको जिल्लाकै प्रशासनीक केन्द्र थियो । बिर्ताबजारमा प्रहरी चौकी, माल अड्डा, कचहरी र भूमिसुधारका जिल्ला कार्यालय थिए । त्यो समयमा एउटा गोलघर समेत बनाइएको थियो, जहाँबाट प्रशासन चलेको थियो भनिन्छ । त्यहाँ एउटा पुरानो इनार र ठुलो रुख पनि थियो रे ।
आजको बिर्तामोड
हालको बिर्तामोड कुनै सहर विकास सम्बन्धी गुरुयोजना बनाएर बसाइएको सहर होइन । यो आफैँ विकसित बन्दै आएको सहर हो । पछिल्लो समय नगर पालिकाले केही योजना बनाएपछि, प्लटिंग र हाउजिङ्ग व्यवसायीहरुले स्वःप्रयासमा बनाएका ठाउँहरुले केही व्यवस्थित रुप धारणा गरेका छन् । बिर्तामोड रात दुगुणा र दिन चौगुणा बढ्दै गएको देखिन्छ ।
बिर्तामोडको प्रारुप २०१९ सालमा महेन्द्र राजमार्गको रेखांकन गरेपछि खडा भएको पाइन्छ । त्यो बेला बिर्तामोड चोकबाट उत्तरबाट शनिश्चरे बजार हुँदै इलाम जिल्लाका बजारहरुमा पुग्न सकिने शाखा बाटो र दक्षिणमा बिर्ताबजार हुँदै भद्रपुर बजार साथै मेची नदी पारी भारतको गलगलिया पुग्न सकिने शाखा बाटो भएकाले २०२८ सालदेखि यहाँ व्यापारीहरुको आगमन भएको देखिन्छ । त्यतिबेलाका ब्यापारीहरुले यो ठाउँमा ब्यापार हुने देखेर आएको अनुमान गर्न सकिन्छ ।
यो ऐतिहासिक तथ्यलाई आधार मान्ने हो बिर्तामोडको उद्भव भएको धेरै समय भएको छैन । एउटा सहरलाई सभ्य, भब्य र व्यवस्थित बनाउन लामो समय लाग्न सक्छ । तर बिर्तामोडको प्रारुप खडा भएको विगतको पछिल्लो ५० वर्षलाई आधार मान्ने हो केही नभएको भने होइन । त्यसरी हेर्दा ०४६ सालको राजनीतिक परिवर्तनपछि प्राप्त उपलब्धी र त्यसबाट सिर्जना भएको अवस्थासँगै चेतनाबृद्धि र खुल्ला समाजले यो ठाउँलाई अगाडि बढ्न मद्धत पुर्याएको हो भन्दा फरक पर्दैन किनभने पन्चायती व्यवस्था बिरुद्ध ०४६ सालमा बिद्रोहको राँको बाल्ने झापामा पनि बिर्तामोड धेरै सक्रिय थियो ।
राजनीतिक व्यवस्था परिवर्तनपछि त्यसले बिभिन्न क्षेत्रमा पनि प्रभाव र असर पार्ने गर्दछ । त्यसको प्रभावले यो क्षेत्रलाई नछोइ रहन सकेन । र, आजको बिर्तामोडको स्वरुप, घनत्व र विकासक्रमलाई नजिकबाट नियाल्दा, यो नेपालको एउटा भब्य सहरको संरचना निर्माणको गतिमा अगाडि बढिरहेको छ । उद्योग, ब्यापारसँगै यस सहरले सिर्जना गरेको अवसरले धेरैलाई रोजगारीको बाटो खुलाएको मात्र छैन, आर्थिक समृद्धिको मार्ग पहिल्याउँदै अगाडि बढेको छ । अहिले बिर्तामोड शिक्षा, स्वास्थ्य र वाणिज्यको हब बनेको छ ।