२०८३ आश्विन १८ गते , आईतबार

कोशीका २३ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहिन

sajilo news
परिवेश मिडिया
२०८२ असार १२ गते , विहीबार
कोशीका २३ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहिन

बिर्तामोड । स्थानीय तहहरुले आगामी आर्थिक बर्षका लागि बजेट ल्याउने समयमा कतिपय स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको पाइएको छ । गत मंगलबार पालिकाहरुले आगामी बर्षको बजेट सार्वजनिक गरिरहँदा कोशीमा २३ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको पाइएको हो ।

सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार कोशी प्रदेशमा २३ पालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा पदपूर्ति भएको छैन ।

कोशीको एक उपमहानगर, ४ नगरपालिका र १८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत दरबन्दी अनुसार नभएका हुन् । १३७ स्थानीय तहमध्ये ११३ पालिकामा भने दरबन्दी अनुसार पदपूर्ति भएका छन् ।

पूर्वमुख्य सचिव विमल कोइरालाले संघीय सरकाले स्थानीय तह प्रतिगैरजिम्मेवारीपन देखाएको टिप्पणी गरे ।  ‘यो त हेलचेक्र्याइँ हो, जनताले डेलिभरी पाउने ठाउँमा कर्मचारी नपठाएर हुन्छ ?’ उनले भने ।  संघीयताप्रति संघीय सरकारको दायित्व बोध छैन भन्ने कुरा यस्तै कुराले देखाउने उनको टिप्पणी छ ।

‘सबैभन्दा व्यस्त हुनुपर्ने ठाउँमा कर्मचारी नपठाइराख्नु नै सरकार गम्भीर छैन भन्ने देखिन्छ’, उनले भने, ‘यसले स्थानीय तहको प्रशासनिक काममा बाधा पुग्छ, कार्यसम्पादन मै असर पुग्छ । यस्तो कुरामा सरकार चुक्नु हुँदैन ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता तथा सहसचिव कालीप्रसाद पराजुलीले कर्मचारी अभावका कारण प्रमुख प्रशासकीय अधिकृत रिक्त भएको दाबी गरे ।  ‘प्रत्येक महिनाजसो २/३ जना कर्मचारी खाली भइरहन्छन् । कोही मुद्दा परेर तानिन्छन्, कोही बिरामी हुन्छन् ।  तर पनि स्थानीय तहको काम प्रभावित भएको छैन,’  उनले भने ।

सम्बन्धित समाचार