२०८३ भाद्र ५ गते , शुक्रबार

सुखानी अब मासिक निस्कने

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र ५ गते , शुक्रबार
सुखानी अब मासिक निस्कने

बिर्तामोड । झापाबाट प्रकाशित हुँदै आएको ‘सुखानी सन्देश’ साप्ताहिक अब मासिक रूपमा प्रकाशित हुने भएको छ ।
२०७९ सालबाट प्रकाशन प्रारम्भ गरेको ‘सुखानी सन्देश’ले आफ्नो प्रकाशन यात्राका क्रममा स्थानीय समाजका विविध विषय, समस्या, सम्भावना र उपलब्धिलाई प्राथमिकताका साथ उठाउँदै आएको छ । यस अवधिमा पत्रिकाले तीन वटा विशेषांकसमेत प्रकाशन गरिसकेको छ ।
पाठकको रुचि, समयको माग र स्थानीय विषयवस्तुको गहिराइलाई ध्यानमा राख्दै साउन महिनाबाट ‘सुखानी सन्देश’ मासिक रुपमा प्रकाशन हुन थालेको सम्पादक राजु पाठकले जानकारी दिए ।
मासिक म्यागेजिनको पहिलो अंकमा १७ वटा विषयसूची समेट्दै ५२ पृष्ठमा खोजमूलक तथा विश्लेषणात्मक सामग्री प्रस्तुत गरिएको छ । नियमित समाचारभन्दा फरक ढङ्गले स्थानीय समाजसँग प्रत्यक्ष जोडिएका विषयमा खोज, विश्लेषण, विचार, संवाद, अनुभव, सफलता र चुनौतीका कथालाई प्राथमिकता दिइएको छ । पत्रिकाका सम्पादक पाठकले प्रकाशनलाई थप व्यवस्थित, आकर्षक र प्रभावकारी बनाउँदै विषयवस्तुलाई सहज तथा गहन ढङ्गले पाठकमाझ पुर्याउने उद्देश्यले साप्ताहिक प्रकाशनलाई मासिक म्यागेजिनमा रूपान्तरण गरिएको बताए ।
पत्रिकाले आफ्नो यात्रालाई कुनै एक व्यक्ति, संस्था वा समूहको मात्र नभई स्थानीय समाज, पाठक, लेखक, पत्रकार, शुभेच्छुक, विज्ञापनदाता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका सबैको साझा यात्राका रूपमा लिएको पाठक बताउँछन् । 

सम्बन्धित समाचार