२०८३ बैशाख ६ गते , आईतबार

लाखौँको अवैध सामानसहित बरामद गाडी राजश्व कार्यालय पठाइयो

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १३ गते , शनिबार
लाखौँको अवैध सामानसहित बरामद गाडी राजश्व कार्यालय पठाइयो

बिर्तामोड । झापाको मेचीनगरस्थित मेची भन्सार कार्यालय काँकडभिट्टाबाट भन्सार नतिरी बाहिरिएको गाडी प्रहरीले पक्राउ गरी राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ । लाखौँको सामान बोकेको गाडी भन्सार नतिरी बाहिरिएपछि प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाको अनुसन्धान टोली र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर६ स्थित ट्राफिक पोस्ट नजिकैबाट शुक्रबार साँझ ७ बजे कन्टेनरलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले ना २ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएसँगै चालक फरार भएका थिए । कन्टेनर भन्सारबाट निस्किए पनि कुनै कागजात फेला परेको नपरेको जिल्ला प्रहरी कार्यालय झापका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाल रिजालले जानकारी दिए । कन्टेनर भन्सार गयो, सामान हालेर आयो तर राजश्व तिरेको कागजात फेला परेन,’ उनले भने । यस बिषयमा भन्सार प्रमुख रामप्रसाद रेग्मीसँग बुझन पटक पटक फोन सम्पर्क गर्दापनि उनी सम्पर्कमा आउन चाहेनन् ।

कन्टेनरमा कोको जेल ६० कार्टुन, अफ्जल ८० कार्टुन, काँसको झ्याम्टा २ हजार ४ सय ६५ केजी र साबुन २५ कार्टुन फेला परेको छ ।

ती सामानको एक करोड एक लाख २७ हजार ५ सय मुल्यांकन गरिएको छ भने गाडीको २० लाख मुल्यांकन गरिएको छ । सूचना अधिकारी रिजालका अनुसार उक्त सामानसहित गाडी साढे १२ बजे तिर राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको हो । 

भन्सार भित्रैबाट भन्सार नतिरी लाखौँ मुल्यको सामान बाहिरिएपछि कर्मचारीको मिलेमतोको आशंका गरिएको छ । केहि दिन अघिदेखि सर्वसाधारणले एक सय रुपैँयाभन्दा माथिको सामान नेपाल भित्र्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम बनाइएको छ । तर लाखौँको सामान भन्सार नतिरी बाहिरिएपछि तस्करको ठूलो सेटिङ हुने गरेको पुष्टि भएको छ ।

सम्बन्धित समाचार