२०८३ बैशाख ६ गते , आईतबार

भन्सारबाट बाहिरिएको कन्टेनरले राजश्व छलेको पुष्टि, ४८ लाख धरौटी माग

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १७ गते , बुधबार
भन्सारबाट बाहिरिएको कन्टेनरले राजश्व छलेको पुष्टि, ४८ लाख धरौटी माग

बिर्तामोड । झापाको मेचीनगरस्थित मेची भन्सार कार्यालय काँकडभिट्टाबाट बाहिरिएको कन्टेनरभित्र लाखौं राजश्व छलिको सामान भेटिएको राजश्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ । सन्तोष खवास प्रोप्राइटर रहेको स्वाभिमान सन्स एन्ड सप्लायर्स मेचीनगरले मेची भन्सारमा तिरेको भन्दा बढी र फरक सामान कन्टेनरमा फेला परेको राजश्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले जानकारी दिए ।

राजश्व अनुसन्धानले कन्टेनर खोलेर छानबिन गर्दा भन्सार प्रज्ञापनपत्रभन्दा बढी र फरक सामान जफत गरेसँगै भन्सारभित्रबाटै राजश्व छली भएको प्रमाणित भएको हो । प्रारम्भिक अनुसन्धानको क्रममा कन्टेनरमा राजश्व तिरेको भन्दा बढी सामान भेटियो,’राजश्व अनुसन्धान कार्यालयका प्रमुख आचार्यले भने,‘भन्सार प्रज्ञापनपत्र तिरेको सामान जफत हुँदैन, त्यो भन्दा बढी भएको सबै सामान जफत गरेका छौँ ।

प्रज्ञापनपत्रमा उल्लेख नभएको अफजल प्रामाणिक स्वादको गुड नाम लेखिएको ८० कार्टुन हुक्काको फ्लेवर, काँसको झ्याली/झ्याम्टा एक हजार किलो र हुक्कामा प्रयोग हुने कोइला ३०० किलो बढी भेटिएको उनले बताए ।

राजश्वले जफत गरेका सामान बापत ४८ लाख ४१ हजार रुपैयाँ धरौटी माग गरेको छ । कन्टेनरको चालकको हकमा ५० हजार धरौटी कायम गरिएको उनले बताए  । राजश्वले पहिलो चरणमा सामान जफत गरी बिगो र धरौटी रकम कायम गरेको बताउँदै उनले भने, ‘राजश्वले अब थप छानबिनको प्रक्रिया अघि बढाउँछ ।

भन्सारबाट बाहिरिएको कन्टेनरभित्र कसरी यतिका सामान बढी फेला पर्यो । त्यसबारेमा मेची भन्सारलाई राजश्वले पत्र काटनेदेखि भन्सार कर्मचारीमाथि छानबिन गर्छ । छानबिनको क्रममा कर्मचारी दोषी देखिएमा विभागीय कारबाही हुन्छ,’ उनले भने । 

यता जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले साउन १२ गते शुक्रबार बेलुका ७ बजे मेचीनगर६ स्थित फाइरिङ चोकमा पार्किङ गरी राखिएको ना ६ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएर राजश्व बुझाएको थियो । 

मेची भन्सार परिसरभित्रबाट विभिन्न सामान लोड गरी बाहिरिएको कन्टेनरभित्र राजश्व छलेको लाखौं सामान रहेको विशेष सूचनाको आधारमा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको थियो । कन्टेनरभित्र राजश्व तिरेको भन्दा बढी र फरक सामान फेला परेपछि एक करोड १ लाखको सामान र २० लाखको कन्टेनरसहित एक करोड २१ लाख २७ हजार ५ सय मुल्य तोकेर आवश्यक कारबाहिका लागि राजस्वमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

भन्सार प्रमुख रामप्रसाद रेग्मीले भने सो कन्टेनर ट्रान्सपोर्टको भएको बताउँदै आएका थिए भने शनिबार साँझ कार्यालयले विज्ञप्ति जारी गरी राजश्व तिरेर कन्टेनर बाहिरिएको बताएको थियो । भन्सार कार्यालयले भन्सार एजेन्ट ढकेन्द्र कार्की (एजेन्ट नं. १०७८) ले भरेको प्रज्ञापन पत्र (एम१००८५) बाट ती सामान कर तिरेर आयात गरिएको थियो र एक लाख ५६ हजार ७९० रुपैँया कर तिरेको बताएको थियो ।

सम्बन्धित समाचार