बिर्तामोड नगरपालिकाको आर्थिक ऐन २०८० पहिलो संशोधन विधेयक पारित
बिर्तामोड । बिर्तामोड नगरपालिकाको आर्थिक ऐन २०८० पहिलो संशोधन विधेयक पारित भएको छ । सोमबार बसेको नगर सभाको विशेष अधिवेशनले संशोधन विधेयक पारित गरेको हो ।
बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको गत असार १३ गते बसेको नगर अधिवेशनबाट पारित भई असार २० गते राजपत्रमा प्रकाशित गरेको आर्थिक ऐन २०८० लाई संशोधन गर्न सोमबार नगरसभाको विशेष अधिवेशन बोलाइएको नगर प्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिइन् ।
चालु आर्थिक बर्षका लागि बिर्तामोड नगरपालिकाले कार्यान्वयनमा ल्याएको सम्पति कर राजनीतिक दलको चौतर्फी विरोध पछि नगरपालिकाले साउन ३२ गते फिर्ता लिएको थियो । पालिकाले कार्यान्वयनमा ल्याएको सम्पत्ति करको दर फिर्ता लिएसँगै सम्पत्ति करलाई पुरानै कायम गरेका कारण उक्त ऐन संशोधनको लागि विधेयक पारित गरेको हो ।
पालिकाले आर्थिक ऐन २०८० मा प्रयोग गरेका केहि शब्दावलीहरु समेत संशोधन गरेको छ भने केहि बुँदाहरु थपसमेत गरेको छ । बिर्तामोड नगरपालिकाबाट व्यवसायीक प्रमाण पत्र नलिएका व्यवसायीहरुलाई व्यवसायीक संघसंस्थाको निर्वाचनको मतदाता सूचिमा समावेश नगरिने व्यवस्था मिलाइने नयाँ बुँदा थप गरेको हो ।
विधेयकको अनुसुची १ को दफा २ मा नगरपालिकाले लगाउने सम्पत्ति करका क्षेत्र र दरहरुमा आर्थिक ऐन २०७९ को अनुसुची १ बमोजिम लगाउने उल्लेख छ ।
अनुसुची २ को दफा २ मा नगरपालिकाले लगाउने भूमिकर मालपोतका क्षेत्र र दरहरु आर्थिक ऐन २०७९ को अनुसुची २ बमोजिम लगाइने उल्लेख छ ।
त्यस्तै अनुसुची ३ को दफा दुईको ४ सँग सम्बन्धित शिर्षकमा आयस्रोत प्रमाणिकरण दस्तुर उल्लेख गरेको छ । १ लाखदेखि १० लाखसम्म पाँच सय पचास रुपैँया, १० लाख १ देखि ३० लाखसम्म दुई हजार पचास रुपैँया र सो भन्दा माथि प्रत्येक एक लाखमा एक सय रुपैँया थप गरिने उल्लेख छ ।
संसोधन विधेयकमा सिभिल ल्याब टेष्टको दर रेट समेत उल्लेख गरिएको छ ।
नगरप्रमुख प्रसाईको अनुमतिमा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सभामा विधेयक पेश गरेका थिए ।