बोर्डिङ सञ्चालकको गोली हानी हत्या
बारा । बाराको कलैया उपमहानगरपालिकामा एक विद्यालय सञ्चालकको गोली प्रहार गरी हत्या गरिएको छ । सोमबार दिउँसो साढे १२ बजेतिर कलैया उपमहानगरपालिका–६, का बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश स्वर्णकार -गुड्डु_ को गोली हानी हत्या गरिएको हो ।
स्वर्णकार दिउँसो घरबाट ५ सय मिटरको दूरिमा रहेको रोजबेरी होटलबाट खाजा लिएर फर्कने क्रममा गोली प्रहार भएको थियो ।
कलैया वडा नं. ६ का वडाध्यक्ष रामविश्वास ठाकुर लोहारका अनुसार स्कुल नजिक पुग्ने बेला उनलाई दुई वटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले घेरेर गोली प्रहार गरी भागेका थिए ।
‘मोटरसाइकल कुदिरहेको थियो, उहाँको अगाडि एउटा र पछाडि अर्को मोटरसाइकलले उनलाई पछ्याएछ’, लोहारले भने, ‘उहाँले भाग्ने प्रयास गर्दै स्पीड बढाउनु भयो, तर अगाडि पट्टी रहेको मोटरसाइकलमा सवार दुईजना मध्ये पछाडि बस्नेले गोली चलाएछन् ।’
त्यसक्रममा रुपेशलाई कम्तिमा ५ राउण्ड गोली लागेको छ । गोली लागेलगत्तै उपचारका लागि उनलाई कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल र्पुयाइएको प्रहरीले जनाएको छ । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले बताए ।
कलैया उपमहानगरपालिकाका प्रमुख विनोदप्रसाद शाहका अनुसार, दिनदहाडै गोली चलेका बेला आसपासमा बाटो हिँड्ने महिलाहरु पनि थिए । ‘उनले भाग्ने प्रयास गरेका रहेछन्, तर कालो सीसा भएको हेलमेट लगाएर आएका अज्ञात व्यक्तिले गोली हानी रहे’, शाहले भने, ‘गोली हानेर उनीहरु भागिहाले ।’
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार, घटनामा पेशेवर अपराधी प्रयोग भएको जस्तो देखिन्छ । ‘बीच बाटोमा कुरेर बसेर उनलाई मात्र टार्गेट गरेर घर छेऊमा गोली हानिएको छ, जसरी उनलाई मात्र लाग्ने गरेर गोली हानिएको छ, त्यो हेर्दा पेशेवर अपराधी प्रयोग भए जस्तो देखिन्छ’, सापकोटाले भने, ‘यसमा संलग्नको खोजी र अनुसन्धान प्रहरीले थालेको छ ।’
वडाध्यक्ष लोहारका अनुसार, स्वर्णकारले झण्डै एक दशकअघिदेखि स्कुल चलाउँदै आएका थिए । बजारमा उनको दुई वटा सुन पसल पनि छ । ‘उहाँ समाजसेवी पनि हुनुहुन्थ्यो, समाजमा अप्ठ्यारो पर्दा सहयोग गरिरहनु भएको हुन्थ्यो’, उनले थपे, ‘उहाँको कुनै रिसिइबी भएको जस्तो लाग्थेन ।’
जिल्ला प्रहरी कार्यालय, बाराका एक अधिकृतका अनुसार, गोली हानेपछि मोटरसाइकलमा भएको चार जनाको समूह दक्षिणतिरै भागेको छ । घटना सीमा क्षेत्रबाट ८ किलोमिटरको दूरिमा भएको हो । प्रहरी अधिकृतहरुले उनीहरु भारततिर भागेको हुनसक्ने आशंका गरेका छन् ।
गोली हान्ने वित्तिकै स्वर्णकारकै बोर्डिङको बाटो हुँदै उनीहरु सीमा क्षेत्रतिर लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रहरीले अहिले सीमा क्षेत्र शिल गरेको छ भने आसपासका क्षेत्रमा हुलिया परिपत्र गरेर खोजतलासलाई तीब्र बनाएको छ ।