हात्तीको बंगराजस्तो बस्तुसहित अर्जुनधाराबाट दुई जना पक्राउ
बिर्तामोड । प्रहरीले अर्जुनधाराबाट हात्तीको बंगराजस्तो देखिने बस्तुसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अर्जुनधारा ७ जरुवा टोलका ४७ बर्षीय तिखबहादुर बिश्वकर्मा र सोहि स्थानका ५० बर्षीय शावा लिम्बु रहेको प्रहरीले जनाएको छ ।
बिश्वकर्माको घरमा सो वस्तु लुकाई राखेको भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले शुक्रबार साढे दुई बजे खोजतलास गर्दा बिश्वकर्माको पसलबाट हात्तीको बंगरा जस्तो देखिने ७ इञ्च लम्बाई, १२ इञ्च चौडाई र १ किलो ७९० ग्राम तौल भएको वस्तु बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
बिश्वकर्माले सो वस्तु लिम्बुको घरबाट ल्याइ राखेको बताएपछि लिम्बुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला वन कार्यालय झापामा बुझाइएको सुचना अधिकारी रिजालले जानकारी दिए ।