कनकाई नगरपालिकाको मोटरसाइकल कारबाहीमा
बिर्तामोड । नक्कली नम्बर प्लेट राखेर प्रयोग गरिएको कनकाई नगरपालिकाको मोटरसाइकललाई कारबाही हुने भएको छ ।
कनकाई नगरपालिकाको नाममा दर्ता कायम रहेको मे १ ब ५९७ नम्बरको सरकारी मोटरसाइकलमा मे १० प ३८८५ नम्बरको नक्कली नम्बर प्लेट राखेर चलाएको पाइएपछि ट्राफिक प्रहरीले कात्तिक १४ गते नियन्त्रणमा लिएको थियो । सो मोटरसाइकल नगरपालिकाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले नम्बर प्लेट परिवर्तन गरेर प्रयोग गरेका थिए ।
फरक नम्बर प्रयोग गरेर मोटरसाइकल चलाएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय बिर्तामोडलाई जिम्मा लगाएको जनाएको छ ।
फरक नम्बर प्लेट राखेर सवारी साधन प्रयोग गर्नु गैरकानुनी हुने भन्दै सो मोटरसाइकललाई पाँच हजार रुपैँया जरिवाना हुने यातायात व्यवस्था कार्यालय बिर्तामोडका निमित्त कार्यालय प्रमुख पदम कट्टेलले जानकारी दिए ।
टीभीएस कम्पनीको १२५ सीसीको सो मोटरसाइकल कनकाई नगरपालिकाको नाममा २०७५ जेठ २७ गते श्री अटो लि= सुरुङ्गाको नामबाट नामसारी भएर सेतो नम्बर प्लेट कायम भएको थियो ।