थुनुवासँगै फरार प्रहरी काँकरभिट्टाबाट पक्राउ
बिर्तामोड । लागूऔषध मुद्दामा थुनामा रहेका एकजना भारतीय नागरिकलाई हिरासतबाट भगाएर आफू पनि फरार भएका प्रहरी जवान बीरबल राय यादव १६ वर्षपछि झापाको काँकडभिट्टाबाट पक्राउ परेका छन् ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाल भारत सीमाको काँकरभिट्टा नाकाबाट माघ ११ गते बिहीबार यादवलाई पक्राउ गरेको हो ।
यादवलाई काठमाण्डौ प्रहरी परिसर लगिएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । यादवले रौतहट प्रहरीको हिरासतबाट लागूऔषध मुद्दाका अभियुक्त भारतीय नागरिक असरफ आलमलाई २०६४ सालमा भगाएका थिए ।
अभियुक्त आलमबाट यादवले ६ लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको छ । उक्त रकमबाट यादवले भारतको कलकत्तामा दुईवटा ट्याक्सी खरिद गरी चलाउन सुरु गरेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्स समेत छ भने नौवटा ट्याक्सी रहेका छन् ।